गणितीय कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय गणित विभागको आयोजनामा डाड ,जर्मनीसितको साझेदारीमा दुइहप्ते ग्राथो कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त वर्कसपमा गणित केन्द्रीय विभागका प्रमुख प्राडा केदारनाथ उप्रेतीले सेमिनारका सहभागी तथा विदेशबाट सो का लागि आमन्त्रित सहभागी तथा बिषय विज्ञहरुलाई स्वागत गर्नुभयो । गोष्ठीका ३२ सहभागीहरुको तर्फबाट आफ्नो धारणा ब्यक्त गर्दै फिलिपिन्सका रिसर्चर सनसाइन पराइकोले नेपालको प्राकृतिक सौन्दर्यले आफुलाई मोहित पारेको बताउँदै सेमिनारको ज्ञान तथा सीपलाई आफ्नो मुलुकसम्म पुर्याउने बताउनुभयो भने नेपालकै अर्का सहभागी उपप्राध्यापक शिवप्रसाद गुप्ताले यो सेमिनार अप्टिमाइजेसनको क्षेत्रमा अध्ययन अनुसन्धानमा लागिपरेकाहरुका लागि अत्यन्त उपयोगी भएको बताउनुभयो ।
गोष्ठीको समापन समारोहमा जर्मनीबाट आएकी माबेल क्रुम्के र फिलिपिन्सको विश्वविद्यालयका गणित विभाग प्रमुख प्राडा जुलियस बिनितेसले नेपालको प्राकृतिक सौन्दर्य , सांस्कृतिक सम्पन्नता ,भौगोलिक विविधताको प्रशंसा गर्दै यस्ता सेमिनारहरुले बिषयगत प्राज्ञिक उन्नयनका साथसाथै आपसी भाइचाराको लागि पनि फलदायी हुने बताउनुभयो । कार्यक्रमका संयोजक डा. श्रीराम खड्काद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा त्रिवि केन्द्रीय गणित विभाग प्रमुख प्राडा उप्रेती तथा डाडका नेपाल एम्बासेडर प्राडा टंकनाथ धमालाले फिलिपिन्सका वरिष्ठ प्राध्यापक डा सर्जियो कान्वेइ ,डा बिनितेससंगै जर्मनीका गणितज्ञ प्राडा स्वेन क्रुम्के , श्रीमती माबेल क्रुम्के तथा अर्की रिसर्चर एण्ड्रिया मायेरलाई सम्मानसहित मायाको चिनो प्रदान गरियो । सो अवसरमा प्राडा क्रुम्केले आफ्नो रुचि तथा आफुले काम गरिरहेको बिष्यको बारेमा आफ्ना धारणा तथा स्थापित सिद्धान्तहरुका बारेमा चर्चा गर्न पाउनु आफ्नो बानी भैसकेको बताउँदै पढाउनु आफ्नो रुचि भैसकेको बताउनुभयो ।

समापन सत्रमा नेपाल गणित समाजका केन्द्रीय अध्यक्ष तथा डाडका नेपाल एम्बासेडर प्राडा धमलाले कार्यक्रमको सम्पन्नताले आफुलाई खुसी प्रदान गरेको बताउँदै यसको निरन्तरताको लागि आफु र आफ्नो समूह लागिपर्ने बताउनुभयो । समापन सत्रमा नेपाल ,फिलिपिन्स तथा जर्मनीका सहभागीहरुका तर्फबाट विभिन्न खाले नृत्य तथा गीत पनि प्रस्तुत गरिएको थियो भने अतिथि नृत्यका रुपमा जर्मनीका प्राध्यापक डा क्रुम्के र श्रीमती क्रुम्केले जर्मन परम्परागत नृत्य समेत प्रस्तुत गर्नुभयो ।

चैत २५ गते ।