प्रचण्ड धर्मसंकटमा : गृहमन्त्री निधि विराटनगर गएपछि मन्त्रिपरिषद् बैठक फेरि स्थगित

काठमाडौँ । उपप्रधानमन्त्रीको वरियता विवादका कारण चैत ३ गतेदेखि अनिश्चित बन्दै आएको मन्त्रिपरिषदको आज पनि बस्न सकेन । बैठकमा सहभागी नहुने वताउँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधि विराटनगर गएपछि बैठक स्थगित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपरान्ह ३ बजेका लागि बैठक बोलाउनुभएको थियो ।

मर्यादाक्रम विवाद टुंग्याएर शुक्रवार बोलाएको बैठक आइतबार ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । प्रधानमन्त्री दाहालले अर्का उपप्रधानमन्त्री कमल थापालाई आफूपछिको वरियताक्रममा राख्ने निर्णय गरिसक्नुभएको छ । यसअघि तेस्रो वरियतामा नबस्ने बरु राजीनामा दिने वताउँदै आएका गृहमन्त्री निधि पछिल्लो पटक मन्त्रिपरिषदको बैठकमा नजाने र राजीनामा पनि नदिने निश्कर्षमा पुग्नुभएको छ । तर, निधि बैठकमा नआउने खवर पाएपछि आइतबार ३ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीले सोमबार ३ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।
चैत २७ गते ।