विश्वकप २०२६: स्पेन र नवप्रवेशी केप भर्डे भिड्दै; यस्तो छ खेलको प्रक्षेपण
न्युयोर्क, १ असार । फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत सोमबार अमेरिकाका विभिन्न सहरहरूमा चारवटा रोचक खेलहरू हुँदैछन्। सोमबार हुने खेलहरूसँगै दाबेदार मानिएका स्पेन, बेल्जियम र उरुग्वेले आफ्नो विश्वकप यात्राको सुरुवात गर्नेछन्।
तालिका अनुसार सोमबार पूर्व विजेता स्पेनले विश्वकपमा पहिलो पटक पाइला राखेको केप भर्डेको सामना गर्नेछ। त्यस्तै, अर्को रोमाञ्चक भिडन्तमा बेल्जियम र इजिप्ट आमने-सामने हुनेछन्। अन्य खेलहरूमा मियामीमा साउदी अरब र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ भने लस एन्जलसमा इरानले न्युजिल्याण्डको सामना गर्नेछ।
मैदान बाहिरका चर्चा
खेलसँगै मैदान बाहिरका केही घटनाहरूले पनि चर्चा पाएका छन्। उरुग्वेको टोलीको यात्रामा आएको प्राविधिक अवरोध, लस एन्जलसमा इरानी-अमेरिकी समुदायभित्र देखिएको वैचारिक विभाजन र लामो समयपछि विश्वकपमा फर्किएको हाइटीको प्रेरणादायी कथाले यस पटकको विश्वकपलाई थप रोचक बनाएको छ।
स्पेन भर्सेस केप भर्डे: के भन्छ तथ्याङ्क?
कागजमा स्पेनलाई निकै बलियो टोली मानिएको छ, तर पहिलो पटक विश्वकप खेल्न लागेको केप भर्डे इतिहास रच्ने दाउमा छ। यी दुई टोलीबीच हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको छैन।
अफ्रिकी टोलीहरू विरुद्ध स्पेनको पछिल्लो रेकर्ड भने त्यति सुखद छैन। सन् २०१८ को विश्वकपमा मोरक्कोसँग २-२ को बराबरी खेलेको स्पेन २०२२ को क्वाटरफाइनलमा मोरक्कोसँगै पेनाल्टी सुटआउटमा पराजित भई बाहिरिएको थियो। विश्वकपको इतिहासमा स्पेनलाई हराउने एकमात्र अफ्रिकी टोली नाइजेरिया (सन् १९९८) हो।
विज्ञहरूको प्रक्षेपण
खेल विश्लेषक संस्था ‘अप्टा’ ले आफ्नो सुपर कम्प्युटरमार्फत गरेको २५,००० वटा सिमुलेसन (प्रयोग) का अनुसार यस खेलमा स्पेनको जित्ने सम्भावना प्रवल देखिएको छ:
-
स्पेनको जित: ८७.२ प्रतिशत
-
बराबरी: ८.१ प्रतिशत
-
केप भर्डेको जित: ४.८ प्रतिशत
केप भर्डेका लागि यो खेल चुनौतीपूर्ण भए पनि विश्व फुटबलमा भइरहने अप्रत्याशित नतिजा निकाल्ने लक्ष्यका साथ उनीहरू मैदान उत्रनेछन्। नेपाली समय अनुसार यी खेलहरू मंगलबार बिहानबाट सुरु हुनेछन्।(स्रोतः अन्तराष्ट्रिय न्यूज एजेन्सी)