पर्यटकको संख्या बढाउन नमस्ते अभियान सुरु
काठमाडौँ । पर्यटनबाट आर्थिक समृद्धि ल्याउन सकिने सपना सहित पर्यटकको संख्या बढाउन आइतबारबाट “नमस्ते अभियान” शुरुवात भएको छ । अतिथि देवो भवः भन्ने नेपाली संस्कारबाट अनुप्राणित हुँदै सरकार, नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघ(एनआरएनए)को संयुक्त प्रयासमा नमस्ते अभियानको औपचारिक शुरुवात भएको हो । काठमाडौंसहित देशका अन्य प्रमुख पर्यटकीय गन्तव्यहरु लुम्बिनी, पोखरा र चितवनबाट एकै समयमा सो अभियानको शुरुवात भएको हो ।
नमस्ते अभियानको काठमाण्डौमा औपचारिक सुरुवात गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङले देशको आर्थिक समृद्धिको लागि पर्यटनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सो अवसरमा उनले नमस्ते नेपाल अभियानको औपचारिक वेवसाइटको उद्घाटन समेत गरे ।
सो अवसरमा एनआरएनएका उपाध्यक्ष तथा पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष भवन भट्टले पर्यटनको माध्यमबाट मात्रै नेपालले छोटो समय र कम लगानीमा आर्थिक समृद्धि हासिल गर्न सक्ने भएकाले पनि त्यस दिशा तर्फ बढ्नको लागि नमस्ते अभियानले सहयोग पु–याउने बताए । उनले पर्यटक पाहुना भएकाले उनीहरुलाई गरिने आतिथ्य–सत्कारको उनीहरु स्वयंद्वारा प्रचार प्रसार हुने भएकाले नेपालमा पर्यटकको संख्या बढ्ने अपेक्षा लिइएको बताए । पर्यटनका नीति, पूर्वाधार भएनन् भनेर भविष्य कुरेर बस्नुभन्दा जे जस्ता नीति र पूर्वाधार छन, त्यसबाट नै पर्यटकलाई आकर्षित गराउन, उनीहरुलाई सजिलोसँग आतिथ्यको लागि मुस्कान सहित नमस्ते गर्दा उनीहरुको मन जित्न सकिने बताए ।
उक्त अवसरमा पर्यटन सचिव शंकरप्रसाद अधिकारीले नेपालले सिर्जनात्मक किसिमले पर्यटन प्रबद्र्धन गर्नुपर्ने समय आएको बताए । उनले “नमस्ते अभियान” यस्तै सिर्जनात्मक र सकारात्मक हुने अपेक्षा राख्दै वर्तमानमा जे जस्ता भौतिक पूर्वाधार छन् त्यसैलाई उपभोग गर्दै पर्यटन विकासमा अघि बढ्नु पर्ने राय दिए । सचिव अधिकारीले विद्यमान पूर्वाधारले पनि १२ देखि १३ लाख पर्यटकलाई धान्न सक्ने बताए ।
यसैगरी, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले पर्यटकको संख्या बढाएर देश समृद्ध बनाउनको लागि केही न केही गर्नुपर्ने आवश्यकता र एनआरएनएको चाहनाका बीच भएको सम्झौता बमोजिम नमस्ते अभियान अघि बढाइएको उल्लेख गरे । उनले गत वर्ष बोर्ड र एनआरएनए बीच भएको सम्झौता अनुसार नै अभियानलाई अघि बढाउने प्रतिबद्धता जनाउदै अभियान सबैको साझा भएको बताए ।
यसैगरी एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नमस्तेले मनभित्रैबाट आशीर्वाद र एकअर्कामा सद्भाव बाँड्ने भएकाले यसको माध्यमबाट पर्यटकको संख्या निश्चय नै बढ्ने बताए । उनले भने, “विदेशीलाई मात्रै नेपाल आऊ भन्ने नभई नेपाली पनि विदेश घुम्न जाने सामथ्र्यको विकास यस अभियानले गर्छ ।”
यसैगरी, चितवनको सौराहाबाट पनि नमस्ते अभियान सुरु गरिएको छ । अभियान अन्तर्गत सौराहामा आयोजना गरिएको अन्तक्रियामा नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुमन घिमिरेले नेपालमा पर्यटन विकासको लागि नमस्ते अभियान सुरु गरिएको बताए । सौराहामा प्रचारात्मक रुपमा ¥याली निकालेर नमस्ते अभियान शुरु भएको घोषणा गरिएको हो । नेपालको आफ्नो मौलिक आतिथ्य र संस्कारलाई व्यवहारमा उतार्दै र बाह्य देशमा फैलाई पर्यटक भित्र्याउने लक्ष्यसहित अभियान आएको छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले नमस्ते अभियानलाई चितवनमा चरितार्थ पार्ने प्रतिबद्धता जनाउँदै अभियान आफैंमा महत्वपूर्ण भएको उल्लेख गरे । पाहुनालाई नमस्तेले स्वागत गरे उनीहरुलाई न्यानो आतिथ्यको महसुस हुने र आफ्नो देश फर्किएर जाँदा पनि नेपाल र नेपालीको प्रशंसा गर्दै पुन नेपाल घुम्न फर्कने विश्वासका साथ यो अभियान थालिएको एनआएनएका प्रतिनिधि तथा जर्मनीका लागि बोर्डका पर्यटन दूत सन्तोषकुमार भट्टराईले बताए ।
बुद्ध जन्मस्थल लुम्बिनीबाट पनि अभियानको सुरूआत गरिएको छ । त्यसअघि लुम्बिनीको महिलवार गेटबाट नमस्ते अभियान ¥याली निकालियो । लुम्बिनीमा आयोजित विशेष कार्यक्रममा द्विप प्रज्वलन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले र अखिल लुम्बिनी विकास कोषका सल्लाहकार भिक्षु मैत्रेय महाथेरोको नेतृत्वमा विभिन्न देशका भिक्षुहरुले सामुहिक परीत्राण पाठ र बुद्ध बचन बाचन गरी बिधिबत रुपमा कार्यक्रम सुरु भयो ।
यस अभियान अन्तर्गत विदेशमा रहने एक जना नेपालीले तीन जना विदेशी पर्यटक नेपाल पठाउने अभियान एनआरएनका सदस्यले चलाउने सदस्य प्रमोद ढकालले बताए ।
पर्यटन बोर्डले नेपालमा स्वागत र सम्मानको कार्यक्रम गर्ने बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतले बताए । “पर्यटकको भिसा नवीकरणलाई सहज बनाउने, लुम्बिनी क्षेत्रमा नेपाली गाइडलाई प्राथमिकता दिने जस्ता योजनाहरू छन्,” उनले भने ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले श्रीलंका र वर्माका पर्यटकलाई पर्यटन व्यवसायमा जोड्न नसकिएको बताए ।
पर्यटकीय नगरी पोखरामा आयोजना भएको कार्यक्रममा एनआरएनए अमेरिका सदस्य सुनिता शर्माले नेपालमा आउने पर्यटकहरुलाई आदर सत्कार गर्न र उनीहरुलाई अतिथिको रुपमा मान सम्मान गर्न अभियान थालनी गरिएको बताईन । कार्यक्रममा वोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले पर्यटन प्रवद्र्धन गर्ने अभियान आए पनि ठोस नीति र स्पष्ट खाका ल्याउनु पर्ने माग गरे ।
नेपाल पर्यटन वोर्ड क्षेत्रिय कार्यालय पोखराका प्रमुख उदय भट्टराईले यो अभियान सफल पार्न प्रत्यक गैर आवासिय नेपालीले कम्तिमा पनि एक जना विदेशीलाई नेपाल पठाउन प्रयास गर्नु पर्ने बताए । नाट्टा क्षेत्रिय संघ पोखराका अध्यक्ष दिल गौतमले आगन्तुक पाहुनाहरुलाई आफुहरुले उत्कृष्ट सेवा दिन तयार रहेको बताए । नेपाल पर्यटन वोर्ड क्षेत्रिय कार्यालय पोखराका बरिष्ठ अधिकृत सुर्य थपलियाले यस अघि पनि गैर आवासिय संघको सहकार्यमा सुरु भएको एउटा साथीलाई घर पठाउ अभियान जस्तै यो अभियानलाई पनि सफल पार्नुपर्ने बताए ।
यस नमस्ते अभियानको शुरुवात गर्दै कार्यक्रम आयोजना गरिएका सवै शहरहरुमा प्लेकार्ड र व्यानरसहित ¥यालीको आयोजना गरिएको थियो ।
यस नमस्ते अभियान संगसंगै विश्वका ७५ देशमा फैलिएको आफ्नो सञ्जाल मार्फत एनआरएनएले प्रत्येक देशमा कम्तिमा वर्षमा ३ वटा नेपालको पर्यटन प्रबर्धनका कार्यक्रम आयोजना गर्ने छ । ति कार्यक्रमहरुः नेपाल डे फेस्टिभल, बुद्घ नेपाल र एभरेष्ट डे लगाएतका कार्यक्रम हुने छन् ।
चैत २८ गते ।