कुनै पनि हालतमा निर्वाचन सर्दैनः थापा

भक्तपुर । स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस मध्यपुर थिमि नगर समितिले आज थिमिको भुँलाखेलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले दुई वा दुईभन्दा बढी चरणमा भए पनि निर्वाचन हुने तर वैशाख ३१ गतेको मिति हेरफेर नहुने बताउनुभएको हो ।
उहाँले कार्यकर्तालाई आश्वस्त पार्दै भन्नुभयो, “आकाश खसे पनि धर्ती फाटे पनि वैशाख ३१ गतेको निर्वाचन सर्दैन ढुक्क हुनुहोस् ।”
संविधानको सफल कार्यान्वयनको एक मात्र कडी स्थानीय तहको निर्वाचन भएको बताउँदै मन्त्री थापाले एमाले र मधेसवादी दललाई सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधनको प्रस्तावलाई प्रस्थान विन्दु मानेर सहमतिमा आउन आग्रहसमेत गर्नुभयो ।
चैत ३० गते ।