हेभी इक्युप्मेन्ट अपरेटर उत्पादन गर्न महासंघ र फोर्स कन्स्ट्रक्सनबीच सम्झौता
काठमाडौं, ३१ चैत । हेभी इक्युप्मेन्ट अपरेटर ट्रेनिङ सेन्टर संचालनका विषयमा विहिवार राजधानीमा नेपाल निर्माण व्यवसायी महासंघ र फोर्स कन्स्ट्रक्सन एण्ड एशोसिएट प्राइभेट लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघ मुख्यालय अनामनगरमा एक कार्यक्रमबीच सम्झौतापत्रमा महासंघका अध्यक्ष शरदकुमार गौचन र फोर्स कन्स्ट्रक्सन एण्ड एशोसिएट प्राइभेट लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक अखिलकुमार गुप्ताले हस्ताक्षर गरे ।
सेन्टर संचालनमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, सीटीइभीटीको प्राविधिक सहयोग रहने महासंघले जनाएको छ । सम्झौता अनुसार थानकोटमा रहेको महासंघको आफनै जग्गामा ट्रेनिङ सेन्टर संचालनमा आउने छ जसमा एक वर्षमा ४ सय भन्दा बढीले तालिम लिन सक्नेछन् । तालिमका लागि आवश्यक उपकरण र पूर्वाधार निर्माणको जिम्मा भने फोर्स कन्स्ट्रक्सन एण्ड एशोसिएट प्राइभेट लिमिटेडले लिएको छ । तालिम पूरा गरेकाहरुलाई सीटीइभीटीले प्रमाणपत्र उपलब्ध गराउने भएकाले उनीहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापक माग हुने अपेक्षा सरोकारवालाहरुले लिएका छन् । तालिम संचालनसँगै अपरेटरहरुको व्यवसायीक क्षमतामा अभिवृद्धि हुने र मुलुकमा बढिरहेको अपरेटर अभावको समस्या पनि केही हद सम्म अन्त्य हुने विश्वास लिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शरदकुमार गौचनले मुलुकमा करीब ७ अर्ब बराबरको ७–८ हजार हेभि इक्युप्मेन्टहरु रहेपनि दक्ष अपरेटहरुको ठूलो अभाव रहेको बताए । मुलुक नवनिर्माण तथा पुर्ननिर्माणबाट गुज्रिरहेको वर्तमान अवस्थामा दक्ष अपरेटहरु उत्पादन गर्ने गरी भएको सम्झौता अत्यन्त महत्वपूर्ण भएको गौचनले बताउनुभयो । झन्झटिलो सरकारी नियमका कारण नेपालमा हेभि इक्युप्मेन्ट संचालनका लागि लाइसेनस लिनेहरुको संख्या पनि अत्यन्त न्यून रहेको अध्यक्ष गौचनले जानकारी दिए । फोर्स कन्स्ट्रक्सन एण्ड एशोसिएट प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक अखिलकुमार गुप्ताले महासंघ सँगको समझादारी सामाजिक उत्तरदायीमा पनि आधारित रहेको भन्दै आगामी दिनमा पनि यस्तो सहकार्य जारी रहने बताए । महासंघका उपाध्यक्ष रुद्र शर्मा र महासचिव रामशरण देउजाले मुलुकको समग्र निर्माण क्षेत्रलाई समृद्ध बनाउने गरी महासंघले संचालन गरिरहेको विविध गतिविधिबारे जानकारी दिए । आगामी दिनमा पनि महासंघले रचनात्मक क्रियाकलापहरुलाई निरन्तरता दिने उनीहरुको भनाइ थियो ।