प्रधानन्यायाधीशमा मनोज शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौँ, ५ जेठ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि सिफारिस हुनुभएका डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ प्रक्रिया पूरा गरी उहाँको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

संवैधानिक परिषद्ले गत वैशाख २४ गते सर्वोच्च अदालतका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले आजै उहाँसँग कार्ययोजना र उजुरीका सम्बन्धमा सोधपुछ गरेको थियो । सुनुवाइका क्रममा शर्माले न्यायलयको सुधार, मुद्दा फर्स्योटमा तदारुकता र न्यायपालिकाको स्वतन्त्रता कायम राख्ने विषयमा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सांसदहरूले उठाएका प्रश्न र उजुरीका सम्बन्धमा स्पष्टीकरण दिएपछि समितिका सदस्यहरूले उहाँको नाममा सहमति जनाएका हुन् । समितिबाट नाम अनुमोदन भएसँगै अब डा. शर्मालाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने छ ।