शेयर बजारमा सुधार

काठमाडौं, १ बैशाख । यो साता शेयर बजारमा सुधार देखिएको छ । पछिल्लो केही समयदेखि निकै उतार चढाव हुँदै आएको बजारमा यो साताको शुरु देखि नै शुधार भएको थियो ।
नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४५.५३ अंकले बढेर अन्तिम दिन १६९७.१३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.१५ अंकले घटेर ३६७.५२ अंकमा आईपुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ५९६२२ कारोबारबाट ६ अर्ब ५४ करोड ५३ लाख ११ हजार रुपैयाँ बराबरका एक करोड ६३ लाख ८९ हजार १ सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४७ प्रतिशत बढी हो । गत साता १५५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३७६५४ कारोबारबाट ६ अर्ब ५४ करोड ५३ लाख ११ हजार रुपैयाँ बराबरका एक करोड १० लाख ६२ हजार ६ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यस साता कारोबार रकम (४४ करोड ७७ लाख रुपैयाँ) को आधारमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (९ लाख ९३ हजार कित्ता) र कारोबार संख्या (२४७७ वटा) को आधारमा पनि नेपाल क्रेडिट एन्ड कमर्स बैंक लि अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।