नियमति विद्युत आपूर्तिले आर्थिक विकासमा सहयोग
काठमाडौं, ४ बैशाख । नियमतिरुपमा विद्युत आपूर्ति हुन थालेपश्चात त्यसले मुलुकको समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरुले वताएका छन् । उर्जा मन्त्रालय अन्तर्गतको उर्जा संकट कार्यक्रम कार्यान्वयन आयोजनाले शोमवार काठमाडौंमा आयोजना गरेको ‘नियमित विद्युत आपूर्तिको अर्थतन्त्रमा प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रमको उद्घाटनकाक्रममा उर्जा मन्त्री जनार्दन शर्माले अबको १० वर्षमा २० हजार मेगावाट बिजुली निकाल्ने लक्ष्यकासाथ सरकारले काम शुरु गरेको वताए । शर्माका अनुसार सरकारको प्रत्यक्ष नेतृत्वमा आगामी ७ वर्ष भित्र ८ हजार मेगावाट बिजुली निकालिने छ । त्यस पश्चातको अवधिमा क्रमिकरुपमा उत्पादन हुने विद्युतले लक्ष्य पूर्ति सहजै हुने उनले वताए ।
पश्चिम सेती, नलसिंहगढ, नौमुरे, उत्तर गंगा, बुढीगण्डकी, सुनकोशी १,२,३, दुधकोशी, अरुण, तमोर लगायतका ठूला जलशाययुक्त आयोजनाबाट सो बिजुली निकालिने उनले वताए । यस वाहेक रनअफ रिभरबाट प्राइभेट र सरकारी क्षेत्रबाट बनिरहेका ९ हजार मेगावट ७ वर्षमा निर्माण गर्न सम्भव भएको उनको भनाई छ ।
विद्युतको विकास सँगै देशको आर्थिक क्षेत्रमा ठूलो प्रभाव पर्ने उनले बताए । लोडसेडिङ अन्त्य भएकै कारणले यसबर्ष ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल हुने अवस्था सृजना भएको मन्त्री शर्माले दाबी गरे । सरकारको लक्ष्य अनुसार बिजुली उत्पादन भए दोहोरो अंकको आर्थिक वृद्धिदर सहजै हुने उनको ठम्याई छ ।
त्यस अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उचित तरिकाले ब्यवस्थापन गर्न सकेकै कारण अहिले मुलुकभरवाट सदाकालाग लोडसेडिङ अन्त्य हुने अवस्था आइरहेको उल्लेख गर्दै अव प्राधिकरणको ध्यान अन्य क्षेत्रमा जाने वताए । ‘अव हामी निर्माणाधिन आयोजनाहरुको ब्यवस्थपन, नीतिगत शुधार, नयाँ आयोजनारुको शुरुवात र प्राधिरकणको संस्थाग शुधार जस्ता कार्यमा ध्यान दिन्छौं,’ उनले भने ।
औद्योगिक क्षेत्रमा कायम रहेको दैनिक चार घण्टाको लोडसेडिङ अव छिट्टै हट्ने उल्लेख गर्दै घिसिङले अवको केही समय पश्चात मुलुकवाट विद्युत विक्री गर्नुपर्ने अवस्था आउन लागेको समेत वताए । चमेलिया जलविद्युतको काम अवको चार महिनाभित्रै सकीने उल्लेख गर्दै उनले तामाकोसीको काम अवको एक बर्षभित्र सकिने वताए ।
अव नियमित मात्र नभई गुणस्तरीय विद्युत उत्पादन तथा वितरणमा प्राधिकरणको ध्यान जाने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले त्यसकालागि आवश्यक पहल शुरु भैसकेको वताए । थप विद्युत उत्पादनकालागि विद्युत प्राधिकण अन्तर्गत मात्रै विभिन्न सातवटा कम्पनि खडागरी ती कम्पनि मार्फत ठूला र दीर्घकालिन महत्वका जलविद्युत आयोजना निर्माणमा लाग्ने उनको भनाई छ ।
प्रसारणलाइन विस्तारको कार्यमापनि अहिले प्राधिकरण लागिरहेको उल्लेख गर्दै उनले आवश्यकता अनुसार विद्युत निकासी÷पैठारी गर्न सक्नेगरी अन्तर्देसिय तथा अन्तर्राष्ट्रिय प्रसारणलाइन निर्माणको काम भैरहेको उनले प्रष्ट पारे । अहिलेको संरचनाले नगुग्ने भएकोले देशैभर प्रसारणलाइनको मर्मर, सुधार र स्तरवृद्धिको काम समेत भैरहेको उनले वताए ।
विगतमा चरम लोडसेडिङके मारवाट आक्रान्त जनताले लोडसेडिङ हटेपछि पछिल्लो समयमा राहतको महशुस गर्न थालेको छ । यसले आमजनतालाई प्रत्येक्षरुपमा राहत मात्र नभई मुलुकभरको उद्योग, व्यवसाय र कलकारखानामा समेत सकारात्मक प्रभाव पारेको छ । काठमाडौंमा उपत्यमाका गत दशै्रदेखि र मुलुकमा अन्य भागमा त्यसयता क्रमिकरुपमा लोडसेडिङको अन्त्य भएको छ ।