कीर्ते गरेको अभियोगमा डीआईजी नवराज सिलवाल पक्राउ,सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर
काठमाडौँ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयले भने छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको बताएको छ ।
आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।
साथै कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन गरिरहेको छ । छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् ।
सिलवालले तत्कालिन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्ते गरी त्यसमा आफ्नो नाम राखेर अदालतलाई पेश गरेको पाइएको भन्दै सरकारले सरकारी कागजात किर्तेको मुद्दामा कारवाही गर्ने तयारी गरेको छ ।
बयानका लागि जाने कि भन्नेबारे कानुनी परामर्श गरिरहेका बेला उनी पक्राउ परेको थिए ।
सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर
यसैबीच,डिआईजी सिलवाललाई प्रहरीले पक्राउ गरी गैर–कानुनी रुपमा थुनामा राखेको भन्दै उहाँका तर्फबाट कानुन व्यवसायी पूर्णप्रसाद राजवंशीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरण रिट दायर गर्नुभएको छ ।
रिटमा नेपाल प्रहरीले सिलवाललाई गैर–कानुनी रुपमा हिरासतमा लिएर राखेको दाबी गर्दै रिट उपर आजै छलफलको माग गरिएको छ ।
वैशाख ११ गते ।