प्यालेस्टिनी कट्टरपन्थी हमास नरम हुँदै

प्यालेस्टाइन । प्यालेस्टाइनको विद्रोही समूह हमासले आफ्नो स्थापनाकालदेखिको दस्तावेजमा पहिलो पटक परिवर्तन गर्दै आफ्नो छवि नरम देखाउने प्रयास गरेको छ। नयाँ दस्तावेजमा हमासले सन् १९६७ अघिको सिमानालाई आधार मानेर अन्तरिम प्यालेस्टाइनी राज्य स्वीकार गर्न इच्छुक रहेको जनाइएको छ।
उक्त दस्तावेजमा अस्तित्वमा रहने इजरायलको अधिकार भने स्वीकार गरिएको छैन।
हमासका अधिकारीहरुले उक्त कदमलाई आफ्नो अडानमा व्यक्त नरमपन भनेका छन् तर इजरायल त्यो विश्वलाई झुक्क्याउने प्रयास भएको जनाएको छ।
नयाँ हमास दस्तावेजमा वर्षौको छलफलपछि सहमति जुटेको ठानिन्छ।
यसले उक्त समूहले दिने गरेको सन्देशमा परिवर्तन आएको तर एकदमै ठूलो हेरफेर नभएको संकेत गर्छ।
अहिलेको भाषा अलि तौलिएर राखिएको छ जसमा हमासको द्वन्द्व यहुदीहरुसँग नभई इजरायसँग भएकोमा जोड दिइएको छ।
यसअघिको दस्तावेजमा यहुदी विरोधी धारणा राखिएको थियो।
उक्त समूहले अन्तरिम दुई राज्य समाधान आफूलाई स्वीकार्य हुने पनि भनेको छ जून एकखालको सम्झौता नै हो।
तर त्यो अन्तिम समाधान नहुने भन्दै उसले नदी देखि समुद्रसम्मको पूरै प्यालेस्टाइनी भूभागलाई स्वतन्त्रता दिइनुपर्ने उल्लेख गरेको छ।
वैशाख १९ गते ।