अस्ट्रेलियापछि अब बेलायतमा पनि १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
एजेन्सी, २ असार । अस्ट्रेलियाको सिको गर्दै बेलायत सरकारले पनि १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ। बालबालिकाको मानसिक स्वास्थ्य र अनलाइन सुरक्षालाई ध्यानमा राख्दै सरकारले यस्तो कठोर कदम चाल्न लागेको हो।
बेलायती प्रधानमन्त्री केयर स्टार्मरले आउँदो क्रिसमस अगाडि नै यससम्बन्धी कानुन पारित गरिने र सन् २०२७ देखि देशभर लागू गरिने जानकारी दिएका छन्। बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्री स्टार्मरले सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण बालबालिकाहरू खुसी हुन नसकेको र उनीहरू अनलाइन दुर्व्यवहारको सिकार भइरहेको बताए।
प्रधानमन्त्री स्टार्मरका अनुसार सामाजिक सञ्जालका ‘एल्गोरिदम’ र डिजाइनहरू बालबालिकालाई लत लाग्ने खालका छन्। “बालबच्चाको सुरक्षा र खुसीको मामिलामा हामी कुनै पनि सम्झौता गर्ने पक्षमा छैनौँ,” उनले भने, “यो प्रतिबन्धपछि बालबालिकाहरूले हुर्किनका लागि थप स्वतन्त्रता, सुरक्षा र समय पाउनेछन्। हरेक अभिभावक आफ्ना छोराछोरीको भविष्य सुरक्षित र उज्यालो होस् भन्ने चाहन्छन्।”
यो कानुन लागू भएपछि १६ वर्ष मुनिका बालबालिकाले निम्न प्लेटफर्महरू चलाउन पाउने छैनन्:
टिकटक (TikTok)
इन्स्टाग्राम (Instagram)
फेसबुक (Facebook)
एक्स (X – Twitter)
स्न्यापच्याट (Snapchat)
युट्युब (YouTube)
यद्यपि, सञ्चारका लागि आवश्यक मानिने मेसेजिङ एपहरू ह्वाट्सएप (WhatsApp) र सिग्नल (Signal) लाई भने यो प्रतिबन्धको दायरामा राखिएको छैन।
यसअघि अस्ट्रेलिया सरकारले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक निर्णय गरिसकेको छ। बेलायतले अस्ट्रेलियाकै अनुभव र सिकाइलाई आधार मानेर यो नीति अघि बढाएको प्रधानमन्त्री स्टार्मरले स्वीकार गरेका छन्।
विश्वभर सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याएको बहस चलिरहेका बेला विकसित मुलुकहरूले चालेको यो कदमलाई निकै चासोका साथ हेरिएको छ।