सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट : मध्यरातमा बजेट भाषण, प्रतिपक्षीद्वारा बहिष्कार
धनगढी, २ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
असार १ गते राति ११:४५ बजे बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरेका हुन् । बजेट बाँडफाँटलाई लिएर सत्तापक्षभित्रै कुरा नमिल्दा र प्रतिपक्षीको चर्को विरोधका बीच सरकारले संवैधानिक समयसीमा सकिनु १५ मिनेटअघि मात्रै बजेट ल्याएको हो ।
मन्त्री धामीले सार्वजनिक गरेको ३७ अर्ब ७० करोडको बजेटका लागि मुख्य स्रोतहरू यसप्रकार छन्:
आन्तरिक राजस्व : १ अर्ब ७२ करोड रुपैयाँ
संघीय सरकारबाट राजस्व बाँडफाँड : १० अर्ब २४ करोड ९२ लाख रुपैयाँ
चालु आवको विनियोजनबाट बचत (क्यारी ओभर) : ९ अर्ब ६२ करोड रुपैयाँ
वित्तीय समानीकरण अनुदान : ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ
सशर्त अनुदान : ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ
विशेष र समपूरक अनुदान : करिब ९१ करोड रुपैयाँ (संयुक्त)
संघीय रोयल्टी : ७ करोड रुपैयाँ
बजेट भाषणका क्रममा मन्त्री धामीले विकास (पुँजीगत) तर्फ कति र प्रशासनिक (चालु) तर्फ कति बजेट विनियोजन गरिएको छ भन्नेबारे स्पष्ट जानकारी दिएनन् । मन्त्रीको मन्तव्यमा खर्चको विस्तृत वर्गीकरण नसमेटिएको भन्दै सांसदहरूले आलोचना गरेका छन् ।
बजेट पेस गर्न ढिलाइ गरेको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गरेका थिए । बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । एमालेका प्रदेशसभा सदस्य मानबहादुर धामीले समयमै बजेट पेस गर्न नसक्नु सरकारको लाचारीपन भएको टिप्पणी गरे । त्यसलगत्तै प्रतिपक्षी सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए ।
वास्तवमा बजेट पेस गर्न ढिलाइ हुनुको मुख्य कारण सत्तापक्षका सांसदहरूबीच बजेटको हिस्सालाई लिएर देखिएको मतभेद थियो । दिनभरको छलफल र खिचातानीका कारण राति अबेर मात्रै बजेट सदनमा पुगेको हो ।
सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । आगामी वर्षको बजेट आकार चालु आवको तुलनामा करिब ४ अर्बभन्दा बढी रहेको छ ।