शेयरमा मन्दी कायमै, बजारले गति लिन सकेन
काठमाडौं । शेयर बजारमा विगत केही समययता देखिएको मन्दी कायमै रहेको छ । राजनीतिक तरलता र आर्थिक संकुचनकाकारण बजारले गति लिन नसकेको हो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७७०६ कारोबारबाट तीन अर्ब ४० करोड १२ लाख ८७ हजार रुपैयाँ बराबरका ५३ लाख ८४ हजार सात सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४०.२६ प्रतिशत कम हो । गत साता १५६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ४१८९८ कारोबारबाट पाँच अर्ब ६९ करोड ३७ लाख ९४ हजार रुपैयाँ बराबरका ८२ लाख चार हजार तीन सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.४० अंकले बढेर अन्तिम दिन १६५३.१८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.७७ अंकले बढेर ३५३.५५ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकम (१६ करोड ८० लाख १० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ५६ हजार कित्ता) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (२१६९ वटा) को आधारमा अरुण काबेली पाबर लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
वैशाख २२ गते ।