भारतद्वरा ‘दक्षिण एसिया भूउपग्रह’को सफल प्रक्षेपण

भारत। भारतले श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट दक्षिण एसियाका लागि नयाँ सञ्चार भूउपग्रह सफलतापूर्व प्रक्षेपण गरेको छ। उक्त भू-उपग्रहका लागि सम्पूर्ण लगानी भारतले गरेको छ र यसले क्षेत्रीय रुपमा संचार तथा प्रसारण सेवालाई मजबुत बनाउने उद्देश्य राखेको छ।

श्रीलंका, माल्दिभ्स, बांग्लादेश, नेपाल र भुटानलाई उक्त भूउपग्रहबाट फाइदा पुग्ने बताइएको छ।

तर पाकिस्तान भने उक्त अभियानको हिस्सा रहेको छैन।

विश्लेषकहरुले भूउपग्रह प्रक्षेपणलाई प्रधानमन्त्री मोदीको अन्तरिक्ष कूटनीति भनिरहेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्रक्षेपणमा संलग्न वैज्ञानिकहरुलाई बधाइ दिदैँ उनीहरुका कामबाट गर्व लागेको बताएका छन्।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था आइएसआरओलाई उक्त भूउपग्रह निर्माण गर्न तीन वर्ष लागेको थियो।

साउथ एसिया भूउपग्रहमा रेडियो संकेतहरुको प्रवाह गर्ने १२ केयु ब्याण्ड क्षमताका ‘ट्रान्सपोन्डर’हरु रहेका छन् जसमध्ये प्रत्येक देशलाई कम्तीमा एउटा ‘ट्रान्सपोन्डर’ उपलब्ध गराइएको छ।