पाकिस्तान च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा


काठमाडौं । श्रीलंकामाथि रोमाञ्जक जित हात पार्दै पाकिस्तान च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ । अन्तिम लिग म्याचमा पाकिस्तानसँग ३ विकेटको हार व्यहोरेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब सेमिफाइनलमा पाकिस्तानले भोलि इंग्ल्याण्डको सामना गर्नेछ । अर्को सेमिफाइनलमा पर्सि भारत र बंगलादेश भिड्नेछन् । यदि भारत र पाकिस्तान दुबैले आ आफ्नो खेल जितेमा फाइनलमा आमनेसामने हुनेछन् ।

कार्डिफमा जितका श्रीलंकाले दिएको २३७ रनको लक्ष्य पाकिस्तानले ७ विकेट गुमाएर भेट्टयो ।
उसका लागि कप्तान सरफराज अहमदले अविजित ६१ रन बनाए । एक समय पाकिस्तानको स्कोर ७ विकेट गुमाएर १६१ रन थियो । तर, कप्तानले मोहम्मद आमिरसँग मिलेर पारी सम्हाले । साथै श्रीलंकाको खराब फिल्डिङ पनि रह्यो ।
सरफराजको दुई सहज क्याच श्रीलंकाले फिल्डरले छाडे । खराब फिल्डिङकै कारण पाकिस्तानले अतिरिक्त रन जोड्न सक्यो । आठौं विकेटका लागि दुबैले ७५ रनको साझेदारी गरे ।
पाकिस्तानका ओपनर फखर जमानले ५० रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले अन्तिम ४ बल खेल्नु अघि सबै विकेट गुमाएर २३६ रन बनाएको थियो । उसका लागि निरोशन डिकवेलाले ७३ रन बनाए ।
पाकिस्तानका जुनैद खान र हसन अलीले समान ३–३ विकेट लिए ।