नेपालको ब्यापार घाटा ७ खर्ब ४७ अर्ब रुपियाँ भन्दा बढी
काठमाडौं । मुलुकको ब्यापार घाटा क्रमिकहरुपमा बड्दै जान थलोको छ । राज्यले आयात प्रतिष्थापना र निर्यात प्रवद्र्धनको प्रभावकारी नीति अवलम्वनगर्न नसक्दा मुलुकमा बर्षेनी ब्यापारघाटाको चाप बढ्दै गएको हो ।
एक सरकारी तथ्याङक अनुसार आर्थिक बर्ष २०७३÷७४ को बैशाख मसान्तसम्ममा मुलुकको कुल वस्तु व्यापार घाटा ३७ दशमलव ५ प्रतिशतले बढी ७ सय ४७ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २ दशमलव ४ प्रतिशतले घटेको थियो । यस अवधिमा निर्यात–आयात अनुपात ७ दशमलव ५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९ दशमलव ३ प्रतिशत रहेको थियो ।
अर्थ मन्त्रालयका अनुसार बैशाख मसान्त सम्मको अवधिमा कुल वस्तु निर्यात ९ दशमलव ८ प्रतिशतले वृद्धि भई ६१ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २१ दशमलव ७ प्रतिशतले ह्रास आएको थियो । यस अवधिमा भारततर्फ १५ प्रतिशत, चीनतर्फ ५ दशमलव ६ प्रतिशत र अन्य मुलुकतर्फ ३ दशमलव१ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, जुटका समान, जि.आई. पाईप, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलंैचा, तयारी पोशाक, अलँैची, पोलिष्टर धागो, चिया लगायतका वस्तुहरुको निर्यात घटेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयको तथ्याङक अनुसार यस अवधिमा कुल वस्तु आयात ३४ दशमलव ९ प्रतिशतले बढेर ८ सय ८ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४ दशमलव ६ प्रतिशतले घटेको थियो । यस अवधिमा भारतबाट भएको आयात ४३ दशमलव ७ प्रतिशत, चीनबाट भएको आयात १२ दशमलव ५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६ दशमलव ९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा,
एम.एस विलेट, हवाईजहाजका पार्टपुर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, ड्राईसेल ब्याट्री, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।
सरकारी तथ्याङक अनुसार अमेरिकी डलरका आधारमा आर्थिक वर्ष २०७३÷७४ को दश महिनासम्ममा कुल वस्तु निर्यात १५ दशमलव ५ प्रतिशत र कुल वस्तु आयात ३५ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वस्तु निर्यात ३१ दशमलव ९ प्रतिशत र वस्तु आयात ११ दशमलव ६ प्रतिशतले घटेका थिए ।
यस अवधिमा भ्रमण आय ४४ दशमलव ४ प्रतिशत र विप्रेषण आप्रवाह दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण आय २७ दशमलव ८ प्रतिशतले घटेको र विप्रेषण आप्रवाह ३ प्रतिशतले बढेको थियो ।
भन्सार नाकाका आधारमा वीरगञ्ज सुख्खा बन्दरगाहा भन्सार, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आएको छ भने अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार र कैलाली भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७३÷७४ को दश महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा ५ दशमलव ८ प्रतिशत र आयात मूल्य सूचकाङ्कमा ४ दशमलव १ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा १ दशमलव ६ प्रतिशतले सुधार भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त २६ दशमलव १ प्रतिशतले बढेको थियो । कार्पेट, अलैची, पश्मिना, अम्लिसो, अदुवाको निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, तामाको तार, लुब्रिकेन्ट्सको लगायतका वस्तुको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो ।
अघिल्लो आर्थिक वर्षको दश महिनासम्ममा अमेरिकी डलर १२८ करोड २३ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा अमेरिकी डलर ६ करोड ८७ लाखले घाटामा गएको छ । त्यसैगरी, शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनामा अमेरिकी डलर १५७ करोड ४५ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा अमेरिकी डलर ५० करोड २७ लाखले बचतमा रहेको छ ।