दोस्रो महिला टि-२०: नेपाललाई ८३ रनको सामान्य लक्ष्य, बलर चम्किएपछि मलेसिया सस्तैमा समेटियो

काठमाडौँ, ८ जेठ । मलेसियामा जारी दोस्रो अन्तरराष्ट्रिय टि-ट्वान्टी क्रिकेट खेलमा नेपालले जितका लागि ८३ रनको सामान्य लक्ष्य पाएको छ । मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजक मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन मात्र बनाउन सक्यो ।

मलेसियाको पारीलाई सस्तैमा समेट्ने क्रममा नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान २–२ विकेट लिए । यस्तै, पूजा महतो र सीता रानामगरले १–१ विकेट हात पारे ।

मलेसियाका लागि ऐना हमिजाले ३० बलमा १७ रन जोड्दै सर्वाधिक स्कोरर रहिन् । यस्तै, धनुश्री मुहुनानले १५ रन र अरिनान नातास्याले १३ रनको योगदान दिए । मलेसियाका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कको स्कोर छुन सकेनन् ।

नेपालले अहिले ८३ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गरेको छ । नेपाली बलरहरूको किफायती बलिङका कारण नेपालले खेल जित्ने बलियो सम्भावना देखिएको छ । यसअघि पहिलो खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो ।