इच्छाविना ट्रम्पद्वारा रुसमाथि प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर, अमेरिका र रुस सम्बन्ध थप संकटमा

 

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसमाथि प्रतिबन्ध लगाउने विधेयकलाई अनिच्छापूर्वक हस्ताक्षर गरेपछि त्यो कानूनमा परिणत भएको छ।
रुसको युक्रेन नीति र गत अमेरिकी राष्ट्रपतीय चुनावमा प्रभाव पार्ने रुसको आरोपित प्रयत्नका कारण पछिल्लो नाकाबन्दी प्रस्ताव गरिएको हो।
रुसी प्रधानमन्त्री मेदभेदेवले नयाँ अमेरिकी प्रतिबन्धबारे प्रतिक्रिया दिँदै भने, अमेरिकाले रुससँग पूर्ण आकारको व्यापार युद्धू घोषणा गरेको छ।
उक्त कानूनले इरान र उत्तर कोरियामाथि पनि थप प्रतिबन्धको व्यवस्था गरेको छ।
राष्ट्रपति ट्रम्पले बन्द कोठामा उक्त विधेयकमाथि हस्ताक्षर गरेका थिए र पछि एउटा विज्ञप्ती जारी गरेर उक्त कानूनका व्यवस्था समस्याग्रस्त रहेको बताए।
ट्रम्पले विधेयकको पक्षमा सर्वसम्मत अनुमोदन गरेको अमेरिकी कंग्रेसको आलोचना गरे।
विधेयकले रुसमाथिको प्रतिबन्ध फुकुवा गर्ने राष्ट्रपतिको अधिकारलाई सीमित गरिदिएको छ।
विधेयकले केही रुसीहरुलाई अमेरिका प्रवेश गर्न अनुमति नदिने र व्यक्तिहरुलाई दिइएको प्रवेशाज्ञा फिर्ता लिन सक्ने व्यवस्था गरेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दीमित्री पेस्कोभले अमेरिकी निर्णयको आलोचना गर्दै भने, त्यो त हाम्रा लागि समाचारै होइन। राष्ट्रपतिले हस्ताक्षर नगरेको भए पनि त्यो स्वतः कानून बन्ने वाला थियो।
पुटिनले प्रतिक्रियामा रुसस्थित अमेरिकी दुतावास र कन्सुलेटबाट ७५५ जना अमेरिकी कुटनीतिज्ञलाई सेप्टेम्बर १ तारिखसम्ममा फिर्ता लैजान आदेश दिएका छन्।