चीनका उपप्रधानमन्त्री वाङसँग उद्योगी व्यवसायीको भेटवार्ता


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाली निजी क्षेत्र र नेपालको औपचारिक भ्रमणमा रहनु भएका मित्रराष्ट्र चीन सरकारका उपप्रधानमन्त्री वाङ याङ बीच बुधबार काठमाडौंमा भेटवार्ता सम्पन्न भयो । मित्रराष्ट्र चीन सरकारका उपप्रधानमन्त्री वाङ याङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चीनको उच्चस्तरीय प्रतिनिधिमण्डलसंग भएको उक्त औपचारिक भेटवार्तामा महासंघका अध्यक्ष राणाले नेपाली निजी क्षेत्रको तर्फबाट उपप्रधानमन्त्री वाङको स्वागत गरिन् ।

उक्त भेटवार्तामा औपचारिक मन्तव्य दिनुहुँदै महासंघका अध्यक्ष राणाले विस्तारै समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको नेपालका लागि चिनियाँ सरकार तथा त्यहांको निजी क्षेत्रको सहयोग यतिखेर खांचो रहेको बताइन् । अध्यक्ष राणाले हाम्रो क्षमता अभिवृद्धि गर्न होस वा उत्पादन क्षमता बढाउन, लगानी प्रवद्र्धन होस वा नेपाल भित्र पर्याप्त आर्थिक अवसरहरुको सृजना गर्न अझ बढी चिनियाँ सहयोग नेपाली निजी क्षेत्रले खोजी रहेको स्पष्ट पारिन् ।

चीनसंगको चुलिंदो व्यापार घाटालाई न्यूनिकरण गर्न नेपाली उत्पादनहरूको चिनिया“ बजारमा सहज प्रवेशका लागि उपप्रधानमन्त्री समक्ष अध्यक्ष राणाले आग्रह गरिन् । यसका लागि चीनमा निर्यात सम्भाव्यता भएका नेपाली वस्तु तथा सेवाहरूलाई डयूटि फ्रि सहुलियत सुविधाको माग समेत
गरिन् । नेपालमा संयुक्त लगानीमा उत्पादन गरी चीनको बजारमा निर्यात गर्न सकिने वस्तु तथा सेवामा आधारित उद्योग व्यवसायमा सहकार्य एवं सहयोगमा समेत अध्यक्ष राणाले जोड दिइन् ।

नेपालमा चिनियाँ लगानी उल्लेख्यरुपमा बढी रहेको बताउनु हुंदै अध्यक्ष राणाले विगतदेखिनै नेपालको जलविद्युत, सिमेन्ट उत्पादन लगायतका क्षेत्रमा ठूलो मात्रामा चिनियाँ लगानी कार्य गरिरहेको स्पष्ट पारिन् । नेपालको महत्वपूर्ण छिमेकी हुनुको नाताले, नेपालको सम्पूर्ण विकास प्रयासमा चिनियाँ लगानी, पछिल्लो पटक चीनले विकासमा प्राप्त गरेको अनुभव एवं प्रविधि एवं तकनिकी नेपाली निजी क्षेत्रले अपेक्षा गरेको धारणा समेत चिनियाँ उपप्रधानमन्त्री समक्ष राखिन् ।

एशियन पूर्वाधार विकास बैंकको संस्थापक सदस्य तथा मित्र राष्ट्र चीन सरकारले अगाडी सारेको एक क्षेत्र एक रोड अभियानको महत्वपूर्ण हस्ताक्षरकर्ताको नाताले नेपालले चीन तथा एक क्षेत्र एक रोडसंग जोडिएका देशहरूसँग प्रगाढ सम्पर्क स्थापित गर्दै लगानी एवं प्रविधि आकर्षण, वाह्य सम्पर्क विस्तार एवं पूर्वाधार अभावलाई समेत परिपूर्ति गर्नेे विश्वास नेपाली निजी क्षेत्रको रहेको अध्यक्ष राणाले बताइन् । अध्यक्ष राणाले एक क्षेत्र एक रोड मार्फत नेपालको पूर्वाधार विकासमा चिनिया“ सहयोगका लागि उपप्रधानमन्त्री समक्ष आग्रह समेत गखिन् ।

चीन नेपालको सवैभन्दा ठूलो विकास तथा व्यवसायिक साझेदार छिमेकी राष्ट्र हो । नेपालको सामाजिक तथा आर्थिक विकासमा सदैव सहयोग गर्दै आएकोमा खुशी प्रकट गर्नुहुंदै अध्यक्ष राणाले नेपालको आर्थिक विकासमा चिनियाँ सहयोग हाम्रा लागि सदैव महत्वपूर्ण औजारको रही आएको बताउनु भयो । अध्यक्ष राणाले यसका लागि नेपाली निजी क्षेत्रकातर्फबाट चीन सरकारप्रति आभार प्रकट गरिन् ।

सो अवसरमा चिनियाँ उपप्रधानमन्त्रीबाट नेपाली निजी क्षेत्रसंगको भेटवार्ता आफ्ना लागि अत्यन्त महत्वपूर्ण भएको बताए । चीन नेपाल बीचको आर्थिक सहकार्य एवं आर्थिक सम्बन्ध निरन्तर रुपमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । भेटवार्तामा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु प्रदीपकुमार श्रेष्ठ र रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका महासचिव सुरेश मान श्रेष्ठ, नेपाली उद्यमी व्यवसायीहरूको उपस्थिति रहनु भएको उक्त भेटवार्तामा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।