ग्लेबल बैंकद्वारा ६५ लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पिडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले उक्त रकमको चेक प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष हस्तान्तरण गरेका हुन् । कुल रकम मध्ये बैंकले आफ्नो तर्फबाट ५१ लाख तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब बराबर हुन आउने १४ लाख रुपैया गरि कुल ६५ लाख रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गरिएको हो । उक्त कार्यक्रममा ग्लोबल आइएमर्ई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष ढकालले विगतमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मुलुकमा विभिन्न समयमा आइपरेका प्राकृतिक प्रकोपमा सहयोग प्रदान गरेको स्मरण गराउँदै अहिले पनि मुलुकमा आइपरेको विपत्तिको सामना गर्न सरकारलाई सहयोग गरेको जानकारी दिए । उनले भविष्यमा पनि देशमा आइपरेका यस्ता विभिन्न विपत्तिहरुबाट पीडितहरुको सहयोगार्थ बैंक सधैं तत्पर रहिरहने प्रतिबद्धता जाहेर गरे ।