चिनियाँ राष्ट्रपति सी आगामी मार्चमा नेपाल आउनु हुने तयारी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ । राष्ट्रपति सी नेपाल भ्रमणमा आउने चर्चा चले पनि यसअघि भ्रमण हुन सकेको थिएन । यसपटक भने उहाँले नेपाल भ्रमणलाई आफ्नो कार्यतालिकाभित्र राखेको माओवादीका एक नेताले जानकारी दिए । सीको नेपाल भ्रमण तयारी राष्ट्रपति कार्यालयले सुरु गरिसकेको स्रोतको भनाइ छ ।
राष्ट्रपति सी २०१६ सेप्टेम्बरमा नेपाल भ्रमणमा आउन चाहनुभएको थियो । दक्षिण एसियाका श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान र भारतलगायत अधिकांश देशको भ्रमण गरिसके पनि उहाँ नेपाल भ्रमणमा आउनुभएको छैन ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका बेला राष्ट्रपति सीको भ्रमण तयारी भए पनि त्यसबेला नेपालमा सरकार परिवर्तनलगायत राजनीतिक अस्थिरताका कारण भ्रमण स्थगन भएको थियो । अहिले नेपालमा निर्वाचनमार्फत स्थिर सरकार निर्माण हुने क्रममा रहेको र अझ त्यसमा पनि वामपन्थीहरूले सरकार गठन गर्ने भएपछि सीको भ्रमण तयारी सुरु भएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको कात्तिकमा सम्पन्न सम्मेलनले सीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव चयन गरेपछि उहाँ अहिले चीनमा माओपछिकै शक्तिशाली नेताका रूपमा चिनिनुभएको छ। उहाँको भ्रमणक्रममा केरुङ—रसुवागढी—काठमाडौं रेलमार्ग विस्तार गर्ने, तेल पाइपलाइन जोड्नेलगायत महत्वपूर्ण सम्झौताको तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । त्यस्तै, नेपालले चीनलाई उपहारस्वरूप दिने भनेको दुईवटा गैंडा पनि सोही बेला हस्तान्तरण गर्ने तयारी छ ।

एमाले र माओवादीको वाम गठबन्धनको बहुमतबाट स्थिर सरकार बनाउने र विकासलाई प्रोत्साहित गर्ने बाटो खुलेपछि चीनले आफ्ना राष्ट्रपतिको भ्रमण गराउन गृहकार्य थालेको हो । नेपालमा वाम गठबन्धनको जितलाई अन्तर्राष्ट्रिय मिडियाले समेत छिमेकी चीनसँग निकटस्थको विजयका रूपमा व्याख्या गरिरहेको सन्दर्भमा भ्रमण तयारी भएको हो ।