राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ, दुई हप्तादेखि ग्राण्डीमा भर्ना

 

काठमाडौँ । ९९ वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएपछि विगत १५ दिनदेखि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिएका छन्

उहाँको छोरा इन्डिबर घिमिरेका अनुसार आउँदो असोज ७ गते सय वर्ष लाग्ने राष्ट्रकवि क्रोनिक ग्यास्ट्राइटीस र उच्च रक्तचापका कारण थला पर्नुभएको हो। केही समय यता उहाँको दिशामा रगत देखिन थालेपछि उच्च सतर्कता अप्नाउँदै अस्पतालमा नै भर्ना गरेर राखिएको हो।

‘केही महिनादेखि नै उहाँ बिरामी हुनुहुन्छ तर १५ दिन यता भने भर्ना नै गरेर ग्राण्डीमा उपचार गराइरहेका छौं,’ घिमिरेले भन्नुभयो, ‘तर दिशाबाट रगत जान रोकिएन। इन्डोस्कोपी र कोलोनोस्कोपी पनि गरियो। त्यसबाट केही देखिएन त्यसैले कारण पत्ता लगाउनका लागि विदेश नै जानुपर्ने चिकित्सकहरुसँग सल्लाह भएको छ। हामी सोही अनुसारको तयारी गर्दै छौं।’

घिमिरेका अनुसार राष्ट्रकविलाई आफू बिरामी छु भनेर देखाउन मन नलागेकै कारण एक महिनादेखि अस्वस्थ भएर अस्पताल भर्ना भए पनि सो सूचना सार्वजनिक नगरिएको हो।

‘बुवालाई बिरामी भएँ भन्ने लाग्यो भने धेरै चिन्ता गर्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामीले कसैलाई पनि भनेनौं। फेरी बिरामी भएको थाह भएपछि भेट्ने मान्छे पनि धेरै आउने त्यसले उहाँलाई आराम गर्नै समस्या हुने देखेर पनि सूचना गुपचुप राखेका हौं।’

उहाँका अनुसार राष्ट्रकविलाई विदेश लाने भनिए पनि उमेरका कारण सामान्य विमानमा लाने अवस्था छैन। एयर एम्बुलेन्स नै बोलाउनुपर्ने देखिन्छ। त्यसैले कहाँ, कसरी लैजाने भन्ने यकिन भइसकेको छैन, उहाँले भन्नुभयो।

अस्पतालका संचार तथा जनसम्पर्क व्यवस्थापक विनोद अधिकारीका अनुसार राष्ट्रकविलाई अहिले ‘हाई केयर युनिट’मा राखेर उपचार गरिँदै छ। ‘राष्ट्रकविको ख्याती, उमेर र रोगका कारण उहाँलाई सहज होस् भनेरै हामीले हाई क्येरमा राखेका हौं,’ उहाँले भन्नुभयो, ‘उहाँकै लागि मात्र हामीले अहिले चौबिसै घन्टा एकजना चिकित्सक र नर्सलाई रेखदेख गर्न खटाएका छौं।’

विदेश नै लानुपर्ने अवस्था बारे भने उपचारका संलग्न चिकित्सकको टोलीसँग छलफल भइरहेको जानकारी दिनुभयो।उहाँको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेको नेतृत्वमा डा। विवेक शर्मा, डा। अखिलेश कश्यप लगायतका डाक्टरहरुको टोली संलग्न रहेको छ ।