बाजपेयीको स्वास्थ्य चिन्ताजनक
नयाँदिल्ली । भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य चिन्ताजनक बनेको छ । उनी उपचाररत रहेकाे अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स्) ले बुधबार साँझ विज्ञप्ती जारी गर्दै स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको र उनलाई ‘लाइफ सपोर्ट’ मा राखिएको जनाएको छ ।

उनको उपचारमा एम्सका निर्देशक डा. रणदीप गुलेरिया नेतृत्वको टोली संलग्न छ। गुलेरिया तीन दशक बढी समय बाजपेयीको निजी चिकित्सक समेत रहिसकेका छन्।
निष्ठावान राजनीतिज्ञको परिचय बनाएका ९३ वर्षीय राजनीतिज्ञ बाजपेयीलाई मिर्गौला, छाती र पिसावसम्बन्धी समस्या देखिएपछि गत ११ जुनमा अस्पताल भर्ना गरिएको थियो। सन् २००९ मा ‘हर्ट अट्याक’ भएपछि स्वास्थ्यकै कारण उनी सक्रिय राजनीति र सार्वजनिक कार्यक्रमहरुबाट टाढा बस्दै आएका थिए। वाजपेयीको स्वास्थ्य नाजुक बनेसँगै उपराष्ट्रपति एम वैंकया नायडु उनको स्वास्थ्य अवस्था बुझ्न बिहीबार बिहानै अस्पताल पुगेका छन्। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य मन्त्रीहरु पनि बुधबार साँझ नै अस्पताल पुगेका थिए।
दुई पटक भारतको प्रधानमन्त्री बन्न सफल बाजपेयी भद्र र शालीन राजनीतिज्ञका रुपमा चिनिन्छन्। र, तार्किक भाषणशैली लागि पनि उनको विशिष्ट परिचय छ। प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गर्ने उनी एकमात्र गैर कंग्रेसी नेता पनि हुन्। उनले १९९९ देखि २००४ सम्मको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए।
कानपुरको डिएभी कलेजबाट राजनीतिशास्त्रमा स्नातकोत्तर बाजपेयी पहिलो पटक सन् १९९६ मा एनडीएको तर्फबाट भारतका दशौं प्रधानमन्त्री बन्न सफल भएका थिए। तर, संसदमा बहुमत साबित गर्न नसकेपछि उनले १३ दिनमै राजिनामा दिनु परेको थियो। राजीनामा दिनेक्रममा उनले संसदमा दिएको मन्तव्यले निकै वाहवाही पाएको थियो।
त्यतिबेला प्रधानमन्त्री पद गुमाए पनि उक्त भाषणका कारण बाजपेयीले राष्ट्रिय राजनीतिमा दीर्घकालीन जित हासिल गरिएको टिप्पणी भएको थियो। नभन्दै उनी पुन: सन् १९९८ मा दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भए। र, दोस्रो पटक भने उनले पाँच वर्षे कार्यकाल पुरा गरे। यसअघि सन् १९७७ मा मोरारजी देसाई नेतृत्वको मन्त्रीमण्डलमा उनी परराष्ट्र मन्त्री थिए। बाजपेयीले दुई पटक नेपालको भ्रमण गरेका छन्। पहिलो पटक सन् १९७७ मा परराष्ट्रमन्त्रीका रुपमा र दोस्रो पटक सन् २००२ मा ११ औं सार्क सम्मेलनका अवसरमा प्रधानमन्त्रीका रुपमा नेपालको औपचारिक भ्रमण गरेका थिए।
सन् १९२४ मा मध्यप्रदेशको ग्वालियरमा जन्मेका बाजपेयीको राजनीति जीवन सन् १९४२ मा तत्कालीन इष्ट इण्डिया कम्पनीविरुद्धको भारत छोडो आन्दोलनबाट सुरु हुन्छ। हुन त त्यसअघि सन् १९३९ मै उनी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) मा आवद्ध भइसकेका थिए। सन् १९५७ मा भारतको तल्लो सदन लोकसभामा प्रवेश गरेका बाजपेयी आफ्नो राजनीतिक जीवनमा दश पटक सांसद निर्वाचित हुन सफल भए। सन् १९८० मा बापजेयीकै नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) को गठन भएको थियो।