पुरानो नैकापमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौको चन्द्रागिरि नगरपालिका १३ स्थित पुरानो नैकाप कंकालीमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको बेलुवा(८ की ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिका(९ का २० वर्षीय टेकबहादुर चेपाङ रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जानकारी दिनुभयो ।
प्लटिङको जमिनमा ढुंगाको पर्खाल लगाउने क्रमममा बुधबार बिहान एक्कासी उनीहरुमाथि पर्खाल खसेको प्रहरीले जनाएको छ । माथिबाट खसेको पर्खालले थिचेर उदयपुरको कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङको गल्छी गाउँपालिका(२ का १८ वर्षीय हरि घले घाइते भएका छन् । उनीहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।