क्यान्सर रोकथाममा काठमाडौँ महानगरको वडास्तरीय सक्रियता : २७ वडा र निजामती अस्पतालबीच निःशुल्क स्वास्थ्य परीक्षण सम्झौता
काठमाडौँ, भदौ २२ । काठमाडौँ महानगरपालिका वडा नं. २७ ले वडाबासी महिलाहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै पाठेघरको मुख, स्तन क्यान्सर र अन्य स्त्री रोगको निःशुल्क स्वास्थ्य परीक्षण गराउने भएको छ। यस कार्यक्रमलाई कार्यान्वयन गर्न वडा कार्यालय र निजामती कर्मचारी अस्पतालबीच आइतबार एक औपचारिक सम्झौता सम्पन्न भएको छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा वडाध्यक्ष योगेश खड्गी र अस्पतालका कार्यकारी निर्देशक डा. जितेन्द्र परियारले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो।
असोज १७ गते विशेष शिविर
सम्झौता अनुसार आगामी असोज १७ गते शनिबार वडा नं. २७ स्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, इनबहालमा एक दिवसीय निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिनेछ। उक्त शिविरमा १५० देखि २०० जना महिलाहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखिएको छ।
अत्याधुनिक प्रविधि र थप उपचारको व्यवस्था
शिविरमा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि अत्याधुनिक ‘एचपीभी डीएनए’ परीक्षण गरिनेछ। प्रारम्भिक जाँचका क्रममा कुनै जटिलता देखिएमा वा चिकित्सकको सल्लाह बमोजिम थप परीक्षण आवश्यक परेमा वडाको सिफारिसमा निजामती अस्पतालमा विशेष सहुलियतसहितका सेवाहरू उपलब्ध गराइनेछ।
क्यान्सर हुनुपूर्वको अवस्था पत्ता लगाउन भीआइए र कोल्पोस्कोपी
बायोप्सी र तल्लो पेटको भिडियो एक्सरे
स्तनको अल्ट्रासाउण्ड र मेमोग्राम
सम्झौतापछि बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘क्यान्सरमुक्त महानगर’को लक्ष्य प्राप्तिका लागि यो वडास्तरीय प्रयास एक महत्वपूर्ण कदम भएको बताउनुभयो। “लक्षण देखिनुअगावै रोगको पहिचान गरी रोकथाम गर्ने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो।
वडाध्यक्ष योगेश खड्गीले भित्री सहरका नागरिकहरू रोग लागेपछि मात्र अस्पताल जाने परिपाटीलाई परिवर्तन गर्न घरदैलोमै सेवा पुऱ्याउन लागिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “कोही पनि वडाबासीले आर्थिक अभाव वा जानकारीको कमीले क्यान्सर जस्तो जटिल रोग भोग्नु नपरोस् भन्ने हाम्रो चाहना हो।”
त्यस्तै, अस्पतालका कार्यकारी निर्देशक डा. जितेन्द्र परियारले वडाको यस तत्परताको प्रशंसा गर्दै अस्पतालले केवल रोगको पहिचान मात्र नभई समाधान र उपचारमा पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अभिलेख र अनुगमन
सम्झौता बमोजिम अस्पतालले परीक्षण गरिएका सम्पूर्ण सेवाग्राहीको स्वास्थ्य अवस्थाको डिजिटल र कागजी प्रतिवेदन वडालाई उपलब्ध गराउनेछ। कार्यक्रमको प्रभावकारिताका लागि महानगर र वडाले नियमित अनुगमन र नियमन समेत गर्नेछन् ।
काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्दै आएको ‘स्वस्थ महानगर’ अभियान अन्तर्गत यो कार्यक्रमले महिला स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ ।
