भोटेकोशी बाढी: ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता, १८८ नेपाली पर्यटक पनि सम्पर्कविहीन
काठमाडौँ, २२ भदौ । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण ठुलो सङ्ख्यामा विदेशी तथा आन्तरिक पर्यटकहरू बेपत्ता भएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ३४ देशका ५८७ जना विदेशी पर्यटक सम्पर्कविहीन रहेका छन् ।
विभिन्न ट्रेकिङ कम्पनीमार्फत चीनको तिब्बतस्थित कैलाश मानसरोवर यात्रामा निस्किएका र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड पुगेका पर्यटकहरू बाढीको चपेटामा परेका हुन् ।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार बेपत्ता हुने विदेशीहरूमा ३२९ महिला, २५६ पुरुष र दुई जना अन्य रहेका छन् । सबैभन्दा बढी छिमेकी मुलुक भारतका १८४ नागरिक बेपत्ता छन् । अन्य प्रमुख देशका बेपत्ता पर्यटकहरूको विवरण यसप्रकार छ:
अमेरिका: ६७ जना, मलेसिया: ५५ जना, युक्रेन: ५४ जना, अष्ट्रेलिया र लाटभिया: ३३–३३ जना, बेलायत: ३२ जना, क्यानडा: ३० जना, चीन: २६ जना, जर्मनी र रसिया: ८–८ जना, यसबाहेक न्युजिल्यान्ड, जापान, फ्रान्स, सिङ्गापुर, दक्षिण अफ्रिका र क्यानडा लगायतका ३४ देशका नागरिकहरूको अवस्था अझै अज्ञात रहेको विभागले जनाएको छ ।
बाढीमा परेर १८८ जना नेपाली आन्तरिक पर्यटकसमेत बेपत्ता भएका छन् । जसमा १६१ पुरुष र २७ महिला छन् । बेपत्ता हुने नेपालीहरूमा विदेशी पर्यटकका सहयोगीका रूपमा गएका र आन्तरिक भ्रमणमा रहेका व्यक्तिहरू रहेका छन् ।
विपद्का बिच सरकारले हवाई र स्थल मार्गबाट खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । विभागका अनुसार हालसम्म ३०७ जना विदेशी पर्यटकको सफल उद्धार गरिएको छ, जसमा २५४ पुरुष र ५३ महिला छन् । बाढीपछि सम्पर्कविच्छेद भएकामध्ये सात जना पर्यटक भने हालै सम्पर्कमा आएका छन् ।
अहिले पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले रसुवाका विभिन्न पर्यटकीय पदमार्ग र तटीय क्षेत्रमा बेपत्ताहरूको खोजी गरिरहेको छ । सडक र सञ्चार सम्पर्क विच्छेद भएका कारण खोजी कार्यमा निकै चुनौती थपिएको सुरक्षा निकायले जनाएको छ ।