बँदेल मार्न थापिएको पासोमा परेर तीन जनाको मृत्यु

 

बर्दिया । बँदेल मार्न थापिएको विद्युतीय पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। घटना गएराति १० बजेतिरको हो।

ठाकुरबाबा नगरपालिका ३ का ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती थारुको विद्युतीय पासोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ

सुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले जानकारी दिए। बँदेललाई पासो थाप्ने स्थानीय राजबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शाहीले धान खेतमा आउँने बँदेल मार्न पासो थापेको अनुसन्धानका क्रममा खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।