झन्डै ७० वर्षपछि टाटाले किन्यो एअर इन्डिया

maitrinews

 

नयाँदिल्ली । जेआरडी टाटाले सन् १९३२ मा स्थापना गरेको भारतको राष्ट्रिय ध्वजावाहक एअर इन्डिया कम्पनी झन्डै ७० वर्षपछि फेरि टाटा ग्रुपकै स्वामित्वमा आएको छ।

टाटा सन्सले १८ हजार करोड भारूमा एअर इन्डिया कम्पनी किनेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

भारत सरकारले सन् १९५३ मा एअर इन्डियालाई राष्ट्रियकरण गरेर सरकारी स्वामित्वमा लिएको थियो। त्यति बेला यसको नाम टाटा एयरलाइन्स थियो। राष्ट्रियकरण गरिए पनि सन् १९७७ सम्म जेआरडी नै कम्पनीका अध्यक्ष थिए।

पछिल्लो समय अत्यधिक ऋणमा डुबेपछि सरकारले एअर इन्डियालाई निजी क्षेत्रको जिम्मा लगाउने निर्णय गरेको हो। यसका लागि प्रक्रिया सुरू गरिए पनि कोरोना महामारीका कारण ढिलाइ भएको थियो।

मूल्य बढाबढ गर्दा टाटा सन्सले १८ हजार करोड भारूमा कम्पनीको जिम्मेवारी सम्हाल्ने कबोल गरेको थियो। टाटा सन्सले पाँच वर्षपछि एअर इन्डियाको ब्रान्ड आफ्नो नाममा राख्न सक्नेछन्। कम्पनीको वित्त विभागले यो वर्ष कुनै कर्मचारी नहटाउने बताएको छ।

टाटाले १५ प्रतिशतसम्मको ऋण आफूले बेहोर्न लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्

सरकारले एअर इन्डिया चलाइरहँदा दैनिक २० करोड भारू घाटा बेहोर्दै आएको थियो। अहिलेसम्म ७०० अर्ब भारू घाटा लागिसकेको अधिकारीहरूले बताएका छन्।

टाटाले अब चार हजार चार सय आन्तरिक र एक हजार आठ सय अन्तर्राष्ट्रिय अवतरण र पार्किङ स्लटहरू चलाउनेछ। लन्डनको हिथ्रो विमानस्थलसहित विदेशका ९ सय स्लट चलाउनेछ। एअर इन्डियाले ९८ ठाउँमा उडान गर्दै आएको छ।