इन्द्रजात्रामा अन्तराष्ट्रिय पाहुना बोलाउने परम्परालाई निरन्तरता

‘नानीचायाः’ कुमारीको रथ उपमेयर डंगोलको नेतृत्वमा तान्ने तयारी

sunita

काठमाडौँ । काठमाडौँ महानगपालिकाका तत्कालिन मेयर विद्यासुन्दर शाक्यले २०७६ सालमा पहिलो पटक काठमाडौंको सांस्कृतिक पर्वको रुपमा रहेको इन्द्रजात्रामा विदेशी पाहुनालाई बोलाएर इन्द्रजात्रा अवलोकन गर्ने परम्पराको थालनी गर्नुभएको थियो ।

त्यतिबेला काठमाडौँ महानगरको भगिनी सम्बन्ध भएका ६ देशका १३ नगरबाट ५ जना मेयरसहित ४५ जना पाहुना इन्द्रजात्राको अवलोकन गर्न नेपाल आएका थिए । छिमेकी मुलुक चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बङ्गालादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अबलोकन टोली नेपाल आएको थियो ।

त्यसैगरी चीनबाटै सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली नेपाल आएको थियो । त्यतिबेला नेपाल आएका पाहुनाले हनुमान ढोका आसपास कुमारी रथयात्रा हुने तल्लो र माथिल्लो टोलको स्थलगत भ्रमण अवलोकन गरेका थिए भने राष्ट्रप्रमुख विद्यादेवी भण्डारीको उपस्थितिमा हुने रथ यात्राको अवलोकन समेत गरेका थिए ।

उनीहरुले त्यसैबेला चन्द्रागिरी भ्रमणसँगै छाउनीको प्राकृतिक संग्रहालय र स्वयम्भूको अवलोकन गरेका थिए भने भक्तपुर र पाटन दरबार स्क्वायरको भ्रमण अवलोकन पनि गरेका थिए । त्यसपछिका दुई वर्ष कोभिड महामारीका कारण इन्द्रजात्रा प्रभावित भएपछि अन्तराष्ट्रिय पाहुनाको उपस्थिति रहेको थिएन । यस पटक फेरि काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रा पर्वको सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वलाई राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा प्रवर्धनमा जोड दिने भन्दै विदेशी पाहुनालाई समेत निमन्त्रण गरेको छ । आज पत्रकार सम्मेलन गर्दै महानगर पालिकाका प्रमुख बालेन्द्र साहले जानकारी दिनुभयो ।

‘धार्मिक सहअस्तित्वका् प्रतीकका रुपमा पर्वलाई लिन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘पर्वमा लैङ्गिक सहभागिताको महत्वका लागि नानिचयाः जात्राको रथ यात्रालाई मैले नेतृत्व गर्ने छु ।’

उहाँले भगिनी सम्बन्ध भएका नगरबाट पर्व अवलोकनका लागि निमन्त्रणा गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उपप्रमुख सुनिता डंगोलले पर्वको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा सामाजिक पक्षको अन्तरघुलन आवश्यक भएको भन्दै अन्तरराष्ट्रिय जगतमा इन्द्रजात्राको मौलिक र दार्शनिक पक्षको उजागर र नगरबासीको सभ्यता चिनाउन विदेशी पाहुनालाई समेत निमन्त्रणा गरेको जानकारी दिनुभयो ।

उहाँले सबै मिलेर पर्वलाई सभ्य, भव्य र सुसंस्कृत बनाउनुपर्छ भन्दै नेवार समुदायको मात्र नभई इन्द्रजात्रा सबै नेपालीको राष्ट्रिय पर्व हो भन्ने भावना जागृत गराउनु पर्नेमा जोड दिनुभयो । ‘धार्मिक सहअस्तित्वका् प्रतीकका रुपमा पर्वलाई लिन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘पर्वमा लैङ्गिक सहभागिताको महत्वका लागि नानिचयाः जात्राको रथ यात्रालाई मैले नेतृत्व गर्ने छु ।’

महानगरपालिकाले दिएको जानकारी अनुसार काठमाडौँ महानगरसँग देशभित्रका ५ वटा र अन्तरराष्ट्रिय स्तरमा १८ वटा नगरहरुसँग भगिनी सम्बन्ध छ । यसरी सम्बन्ध गाँसिएका अन्तरराष्ट्रिय नगरहरुमा चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा सहर छन् । काठमाडौँ महानगरसँग धेरै सहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ ।

यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, मान्मारको यांगुन, उत्तर कोरियाको प्योङ्याङ्, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।