विश्वकप क्वालिफायर प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा

काठमाडौं, १३ मङ्सिर । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ ।

डिसेम्बर ४ देखि २१ सम्म नेपालमा आयोजना हुने प्रतियोगिताका लागि घोषित टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम रहेका छन् ।

प्रतियोगितामा नेपालसहित नामिबिया, क्यानडा, संयुक्त अरब इमिरेट्स (युएई), इटाली, युगान्डा, जर्सी र कुवेत गरी आठ टोली सहभागी हुनेछन् । खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

राउन्ड रोबिन प्रणालीमा हुने प्रतियोगितामा प्रत्येक टोलीले अन्य सात टोलीसँग एक–एक खेल खेल्नेछ । प्रतियोगिताको शीर्ष चार टोली सन् २०२७ मा आयोजना हुने विश्वकप ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन् ।

नेपालले डिसेम्बर ४ मा इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि डिसेम्बर ६ मा युगान्डा, १० मा युएई, १२ मा जर्सी, १४ मा क्यानडा, १८ मा नामिबिया र २१ डिसेम्बरमा कुवेतसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *