मिथिला क्षेत्रमा जितिया पर्व धूमधामका साथ मनाईँदै
महोत्तरी : मध्यपूर्वी तराईका जिल्लामा सोह्रश्राद्ध सुरु भएसँगै महिलाहरूको जितिया पर्व पनि शुरु भएको छ ।
यो पर्व मिथिलामा पौराणिक र पारम्परिक महत्वका साथ मनाइनुका साथै यसपालि पितृपक्ष सोमबार नै प्रारम्भ भएको हो ।
महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ ।
पितृपक्ष सुरु हुनासाथै बर्तालु महिला आत्मिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुरानो मैथिल परम्परा हो ।
अष्टमी सुरु हुनु एकघडी (करिब साढे दुई घण्टा) उपवास बसी एक अहोरात्रपछि नवमी तिथि एकघडी कटाएर समापन गरिने मैथिल परम्परा छ ।
सन्तानको सौर्यवृृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै सुरु हुने गरेको हो ।
यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरिउञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ ।
पहिले सन्तान (छोरा–छोरी)को कल्याण कामनार्थ गरिँदै आएको यो व्रत पछिपछि पुत्रका नाममा हुन थालेको मान्यता पनि रहि आएको छ ।
यसपालि यो व्रत तिथिको भोग घटबढले आउने आगामी असोज १ गते परेको छ । आगामी शनिबार मध्याह्नलगत्तै अष्टमी तिथि लाग्ने हुँदा शुक्रबार मध्यरातपछि शनिबार बिहानै दही, चिउरा ‘ओगटन’ (दर) खाएर बर्तालुले निराहार व्रत सुरु
गर्नेछन् ।
निराहार ब्रत बस्ने महिलाले एक अहोरात्र कटाएर नवमी तिथि एकघडी कटाएपछि ब्रत समापन गर्नेछन् । यसपालि आइतबार मध्याह्नपछि नवमी तिथि प्रारम्भ हुने हुँदा सो दिन सूर्यास्तपछि व्रत समापन गर्न सकिने जनाइएको छ ।
सामान्यतया उदाउँदो सूर्यका बेला समापन गरिने यो पर्व यसपालि भने सूर्यास्तपछि हुने भएको छ । व्र्रतमा एक अहोरात्र कटाउन पर्ने विधानले यसपालि जितिया व्रत ३६–३७ घण्टाको हुने ब्राह्मण बताउँछन् ।
कठोर विधानको यो व्रतको महिमा जनजिब्रोमै रहने गरेको मिथिला संस्कृति र परम्परामा उल्लेखनीय छ ।
सन्तानको कल्याण र सौर्य वृद्धिको कामनासहित पुत्रवती मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा रहेको छ ।
यस व्रतमा पुरुषहरूले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै उनीहरूले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको छ ।
पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्र्रत सङ्कल्प गरिन्छ ।
बर्तालुुले दिवङ्गत सासु, जेठानी, बुढीसासु, नन्द–आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितहरुको भनाइ छ ।
ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर’ भन्ने पनि कामना गरिन्छ ।
विगतामा आमाहरूले सन्तानकै लागि यो व्रत सुरु गरेका भए पनि कालान्तरमा परिवार र समाजमा पुरुष प्रभुत्व बढ्दै गएपछि ‘पुत्र’ का लागि भनेर गर्न लागिएको देखिन्छ ।
ब्रतका बेला बर्तालुहरुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन् ।
अघि द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप)ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाका आधारमा यो कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।
मिथिलाक्षेत्रका सबैजसो सन्तानवती मैथिल हिन्दू महिलाले मनाउने यो पर्वमा तीजजस्तै महिलाका लागि पछिल्ला चार वर्षयतादेखि मधेस प्रदेश सरकारले बिदा समेत दिँदै आएको छ ।