बाढी प्रभावित त्रिशूली पुगे सोनु सूद, पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बलिउड अभिनेता तथा समाजसेवी सोनु सूद बाढी प्रभावित नुवाकोटको त्रिशूली क्षेत्र पुगेका छन् । भारतबाट आएका सहयोगीहरूसहित बुधबार त्रिशूली नदी किनार पुगेका सूदले बाढीले निम्त्याएको विनाशको प्रत्यक्ष अवलोकन गरेका हुन् ।

बाढीले तहसनहस बनाएको त्रिशूली नदी आसपासको अवस्था हेरेपछि सूदले सामाजिक सञ्जालमार्फत प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका छन् । उनले बाढीले भत्किएका घर, प्रभावित परिवार र बदलिएको जनजीवन देख्दा आफू निकै दुःखी भएको बताएका छन् ।

‘नेपाल एक्लो छैन’ भन्दै सूदले नेपाली जनताको साथमा आफू रहेको बताएका छन् । प्रभावित क्षेत्रमा आशा जगाउने, घर पुनर्निर्माणमा सहयोग गर्ने तथा बाढीबाट प्रभावित परिवारलाई पुनः नयाँ जीवन सुरु गर्न सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सूदले आफ्नो सामाजिक संस्था सूद च्यारिटी फाउन्डेसनमार्फत प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन् ।

यसअघि पनि सूद बाढी प्रभावित नेपालीका लागि राहत सामग्रीसहित नेपाल आएका थिए । उनले घरबारविहीन बनेका परिवारका लागि आवास निर्माणमा सहयोग गर्ने उद्देश्यले ‘एक घर बनाउने संकल्प’ अभियान अघि बढाउने बताएका थिए ।

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीबाट हजारौं परिवार प्रभावित भएका छन् भने घर तथा सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुगेको छ । सरकारी प्रारम्भिक अनुमानअनुसार करिब ६ हजार निजी घर बाढीबाट बगेका छन् ।