हर्मुज जलघाँटीमा तनाव : अमेरिका र इरानबीच सैन्य मुठभेड चर्किँदा विश्व व्यापार र ऊर्जा आपूर्तिमा गम्भीर सङ्कट

एजेन्सी, १८ भदौ । संयुक्त राज्य अमेरिका र इरानबीच पुनः सैन्य मुठभेड चर्किएपछि मध्यपूर्वमा युद्धको दायरा विस्तार हुने र विश्वव्यापी तेल आपूर्तिमा गम्भीर अवरोध सिर्जना हुने जोखिम बढेको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलघाँटीमा दुवै पक्षले एकअर्काका लक्ष्यमाथि आक्रमण तीव्र पारेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी सेनाले रातभर इरानी सैन्य ठेगानाहरूमा ‘धेरै भारी आक्रमण’ गरेको र आवश्यक परे जुनसुकै बेला पुनः प्रहार गर्न तयार रहेको बताउनुभयो । उहाँले हर्मुज जलमार्ग अहिले पूर्ण रूपमा अमेरिकी नियन्त्रणमा रहेको दाबी गर्दै ठट्टाको शैलीमा यसको नाम परिवर्तन गरी ‘ट्रम्प स्ट्रेट’ राख्नुपर्ने सुझाव समेत दिनुभएको छ ।

यसैबीच, अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले इरानका आर्थिक साझेदारहरूलाई समेत लक्षित गरी प्रतिबन्धहरू विस्तार गर्ने योजना रहेको र तेहरानमाथि अधिकतम आर्थिक दबाब सिर्जना गरिने जानकारी दिनुभयो ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिका–इजरायलको आक्रमणपछि इरानले नयाँ प्रतिरोधी रणनीति अपनाएको बताउनुभएको छ । उहाँले इरान अब युद्धभूमि, कूटनीति र आर्थिक नाकाबन्दीको संयुक्त रूपमा सामना गर्दै क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरू ध्वस्त पार्न केन्द्रित हुने चेतावनी दिनुभयो ।

मङ्गलबारको अमेरिकी बमबारीपछि इरानले जोर्डन, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन तथा इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको छ ।

इरानी रेड क्रिसेन्टका अनुसार दक्षिणी इरानको सिरिकमा एक विवाह समारोह भइरहेको स्थानमा भएको अमेरिकी आक्रमणमा एक बालकसहित चार जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले यसलाई ‘युद्ध अपराध’ को सङ्ज्ञा दिँदै कडा आक्रोश व्यक्त गर्नुभएको छ । यद्यपि, अमेरिकी सेन्ट्रल कमान्डले नागरिकलाई कहिल्यै निशाना नबनाउने दाबी गरेको छ ।

पछिल्लो सैन्य टकरावका क्रममा हर्मुज जलमार्गमा दुईवटा तेल ट्याङ्करमा समेत प्रहार भएको छ । साउदी ढुवानी कम्पनीका अनुसार एउटा ट्याङ्करमा भएको आक्रमणमा दुई फिलिपिनो नाविकको मृत्यु भएको छ ।

विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओसारपसार हुने हर्मुज जलघाँटीमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा हलचल पैदा गरेको छ । यदि यो अवरोध लम्बिएमा विश्वभर इन्धनको मूल्य बढ्ने र व्यापारिक शृङ्खला प्रभावित हुने निश्चित छ ।

इरान र अमेरिका–इजरायलबीचको यो प्रत्यक्ष युद्ध गत फेब्रुअरी २८ मा सुरु भएको थियो, जसमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको थियो । त्यसयता जारी अस्थिरताले अहिले उग्र रूप लिएको हो । यसैबीच, इजरायली रक्षामन्त्री इजरायल काट्जले आगामी यहुदी पर्वका समयमा इरानले कुनै पनि आक्रमण गरे इजरायलले ‘ठूलो शक्ति’ का साथ प्रत्युत्तर दिने चेतावनी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *