भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि नजिकका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आह्वान
काठमाडौँ, १८ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी र फेला परेका बेवारिसे शव तथा मानव अङ्गहरूको वैज्ञानिक पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ। बाढीले बगाएका कतिपय शवहरू क्षतविक्षत अवस्थामा फेला परिरहेकाले तिनको सही पहिचान गरी परिवारलाई बुझाउन प्रहरीले यो कदम चालेको हो।
नेपाल प्रहरीले आज एक सूचना जारी गर्दै स्वदेश तथा विदेशमा रहेका बेपत्ता नागरिकका पहिलो पुस्ताका नजिकका नातेदारहरूलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ।
बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकका सबैभन्दा नजिकको रगतको नाता (बाबु, आमा, छोरा वा छोरी) मध्ये कुनै एक जनाले २ प्रति पासपोर्ट साइजको फोटोसहित उपस्थित हुनुपर्नेछ। डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमुना दिन काठमाडौँको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्याथोलोजी ल्याब वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
विदेशमा रहेका विदेशी नागरिक वा गैरआवासीय नेपालीका हकमा पनि बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित देशकै आधिकारिक फोरेन्सिक प्रयोगशालाबाट ‘अटोसोमल एसटीआर डीएनए प्रोफाइलिङ’ गराउनुपर्नेछ। उक्त प्रयोगशालाको रिपोर्ट र सम्बन्धित व्यक्तिको विस्तृत विवरण डिजिटल प्रति (सफ्टकपी) नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउनुपर्नेछ। इमेल पठाउँदा निम्न विवरण खुलाउनुपर्ने प्रहरीले जनाएको छ:
सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता ।
राहदानी (पासपोर्ट) वा आधिकारिक परिचयपत्रको विवरण ।
व्यक्ति हराएको मिति र सम्भावित स्थान ।
डीएनए दिने व्यक्ति र हराइरहेको व्यक्तिबीचको पारिवारिक नाता ।
समन्वयका लागि सम्पर्क अधिकारीहरू
प्रहरीले डीएनए परीक्षण र समन्वयका लागि दुई जना सम्पर्क अधिकारीहरू समेत तोकेको छ:
१. प्रहरी निरीक्षक शम्भुबहादुर केसी : ९८४१६१६०९५
२. प्रहरी नायब निरीक्षक विष्णु घिमिरे : ९८५७०९१०१३
गत भदौ १० गतेको भीषण बाढीले ठुलो सङ्ख्यामा मानवीय क्षति पुर्याएको छ। सङ्कलन गरिएका धेरै शवहरूको अनुहार र हुलिया चिन्न नसकिने अवस्थामा रहेकाले वैज्ञानिक विधिबाट सनाखत गर्न यो प्रक्रिया अनिवार्य गरिएको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ।
