नुवाकोटमा एउटै वडाको सेवा ४ ठाउँबाट लिन सकिने

नुवाकोटः नुवाकोटको सूर्यगढी गाउँपालिका–१ को वडा कार्यालयकाे सेवा ४ स्थानबाट उपलब्ध गराउने भएको छ ।

वडा कार्यसमितिको बैठकले वडा कार्यालय रहेको स्थान सोलेमानेसहित हरेक महिनाको ५ गते सल्लेनडाँडा, १५ गते धोबीखोला र २५ गते डिठास्वाराबाट एकीकृत सेवा उपलब्ध गराउन लागेको हो ।

वडाको मध्यविन्दुमा वडा कार्यालय भए पनि भौगोलिकरूपमा विकट भएकाले सेवा लिन नागरिकको पहुँच र चासो कम भएको पाइएसँगै वडाको सेवा थप तीन स्थानमा विस्तार गर्ने वडा समितिको बैठकबाट पारित गरेकाे छ ।

महिनाको थप तीन स्थानमा सञ्चालन गरिने सेवामा वडा कार्यालयबाट उपलब्ध हुने सबै सेवासहित स्वास्थ्यचौकी, कृषि र पशु विकासको शाखा कार्यालयमार्फत प्रदान गरिने सेवासमेत उपलब्ध गराइने छ ।

घुम्ती शिविर सञ्चालनका लागि सल्लेनडाँडा र धोबीखोलामा घुम्ती सेवा केन्द्रको भवन बनाउन वडा कार्यालयले बजेटसमेत छुट्याएको छ भने डिठास्वारामा दातृ निकायको सहयोगमा निर्माण भइरहेको खोप केन्द्रको भवन प्रयोग गर्ने निर्णय भएको छ ।

हालका लागि वडा कार्यालय र मातहतमा रहेका सेवालाई घुम्ती शिविरमार्फत प्रदान गर्न लागिएको छ भने आगामी दिन घुम्ती शिविरमा पालिकाको विभिन्न शाखाबाट प्रवाह गरिने सेवासहित ठूला स्वास्थ्य संस्थासँगको सहकार्यमा स्वास्थ्य शिविरलगायत सेवासमेत समावेश गरिने बताइएको छ ।