ओमानमा नेपाली उत्पादनको बजार विस्तारका लागि द्विपक्षीय समझदारी
काठमाडौँ, साउन २३ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा प्रवर्द्धन र विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासङ्घ नेपाल र ओमानस्थित गैरआवासीय नेपाली (एनआरएन) सोसल क्लबबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।
मस्कटस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विशेषकुमार साहको उपस्थितिमा शुक्रबार आयोजित एक विशेष समारोहमा महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार, ओमानमा नेपाली निर्यातकर्ताहरूलाई त्यहाँका स्थानीय साना तथा मझौला व्यवसायी, व्यापारी एवं सम्भावित खरिदकर्ताहरूसँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन् । यस पहलबाट नेपाली उत्पादनका लागि ओमानमा नयाँ बजार पहिचान हुनुका साथै व्यावसायिक सञ्जाल विस्तार हुने विश्वास लिइएको छ ।
समझदारीमा ‘मेड इन नेपाल’ उत्पादनको प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको छ। ओमानमा आयोजना हुने विभिन्न सांस्कृतिक तथा सामुदायिक कार्यक्रमहरूमा नेपाली चिया, कफी, अलैँची, मसला, हस्तकला, फेल्ट, तयारी पोसाक (गार्मेन्ट), गलैँचा, जडीबुटीजन्य सामग्री र परम्परागत पोशाकहरूको प्रदर्शनीका लागि स्टलको व्यवस्था गरिने सम्झौतामा उल्लेख छ ।
यसका साथै, ओमानको भन्सार प्रक्रिया, आयातसम्बन्धी कानुनी मापदण्ड, गुणस्तर नियन्त्रण, हलाल प्रमाणीकरण र व्यापारिक नीतिहरूका बारेमा क्लबले महासङ्घलाई आधिकारिक जानकारी उपलब्ध गराउनेछ । नेपाली वस्तुको सहज निर्यातका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने जिम्मेवारी समेत क्लबले लिएको छ ।
यो समझदारीले नेपाली मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र वैदेशिक मुद्रा आर्जनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।