भारतमा चर्किएको युवा आन्दोलनले मोदी सरकार दबाबमा: शिक्षामन्त्रीको राजीनामापछि बेरोजगारी र प्रणालीमाथि प्रश्न

नयाँ दिल्ली, २३ साउन । भारतमा युवाहरूको नेतृत्वमा भएको देशव्यापी विरोध प्रदर्शनका कारण प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले पछिल्ला वर्षहरूमा देखिएकै गम्भीर राजनीतिक चुनौतीको सामना गरिरहेको छ । परीक्षामा भएको अनियमितता विरुद्ध सुरु भएको आन्दोलनले दुई साताअघि शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य पारेपछि मोदी सरकार रक्षात्मक अवस्थामा पुगेको हो ।

अनलाइन समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को नेतृत्वमा सुरु भएको यो आन्दोलन नयाँ दिल्लीबाट विभिन्न ठूला सहरहरूमा फैलिएको थियो । सुरुमा परीक्षामा भएको प्रश्नपत्र चुहावट र धाँधलीविरुद्ध केन्द्रित आन्दोलन पछि बेरोजगारी, युवाका लागि अवसरको कमी र सरकारको ‘नियन्त्रणकारी’ कार्यशैलीप्रतिको असन्तुष्टिका रूपमा विस्तार भयो । यद्यपि, सरकारले केही मागहरू सम्बोधन गरेपछि प्रदर्शन केही मत्थर भएको छ, तर यसले भारतीय युवामा गुम्सिएको आक्रोशलाई सतहमा ल्याइदिएको छ ।

एक दशकभन्दा बढी समयदेखि बलियो र अटुट नेतृत्वको छवि बनाएका मोदीका लागि शिक्षामन्त्रीको राजीनामालाई दुर्लभ राजनीतिक धक्का मानिएको छ । दबाब झेल्न सरकारले तत्कालै परीक्षामा हुने धाँधलीविरुद्ध कडा सजायको व्यवस्थासहितको नयाँ कानुन ल्याएको छ भने प्रदर्शनकारीमाथि लगाइएका केही मुद्दाहरू समेत फिर्ता लिएको छ ।

युवा मतदातामाझ आफ्नो पकड कायम राख्न प्रधानमन्त्री मोदीले हालैका दिनमा सामाजिक सञ्जाल, विशेष गरी इन्स्टाग्राममा आफ्नो सक्रियता बढाउँदै युवा लक्षित ‘भिडियो सामग्री’ सार्वजनिक गर्न थाल्नुभएको छ ।

आन्दोलन दबाउन सरकारले आधुनिक प्रविधिको प्रयोग गरेको तथ्यहरू पनि बाहिर आएका छन् । प्रदर्शनकारीको पहिचानका लागि कृत्रिम बुद्धिमत्ता (एआई) युक्त क्यामेराको प्रयोग गरिएको र नयाँ दिल्लीका मुख्य स्थलहरूमा इन्टरनेट सेवा अवरुद्ध गरिएको थियो ।
इन्टरनेट अवरोधको निगरानी गर्ने संस्था ‘एक्सेस नाउ’का अनुसार, भारत विश्वमै सबैभन्दा बढी इन्टरनेट बन्द गर्ने देशहरूको सूचीमा दोस्रो स्थानमा छ । प्रदर्शनका क्रममा महिला आन्दोलनकारीहरूले अनलाइन दुर्व्यवहार र धम्कीको समेत सामना गर्नुपरेको बताएका छन् ।

प्रश्नपत्र चुहावट आन्दोलनको तत्कालीन कारण बने पनि यसको चुरो भने रोजगारीको अनिश्चितता र सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वास रहेको विज्ञहरू बताउँछन् । वर्षौंसम्म कडा मेहनत गरेर प्रतिस्पर्धात्मक परीक्षामा सामेल हुने तर अन्त्यमा धाँधली र बेरोजगारीको शिकार हुनुपर्ने अवस्थाले भारतीय युवामा चरम निराशा पैदा गरेको छ ।

सीजेपीका संस्थापक अभिजीत दीपकका अनुसार यो आन्दोलन तत्काल राजनीतिक दलका रूपमा नभई एक शक्तिशाली ‘दबाब समूह’का रूपमा अघि बढ्नेछ । “जनता सरकारी प्रणालीबाट निकै थकित र निराश छन्, त्यसैले हाम्रो आन्दोलनले यति ठूलो जनसमर्थन पाएको हो,” उहाँले भन्नुभयो । सीजेपीले अब युवाका समस्या बुझ्न ‘राष्ट्रव्यापी श्रवण भ्रमण’ सञ्चालन गर्ने योजना बनाएको छ ।

भारतमा आगामी आम निर्वाचन हुन अझै तीन वर्ष बाँकी रहे पनि यो युवा आन्दोलनले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र विपक्षी दलहरूलाई युवा मतदाताका एजेन्डामा गम्भीर हुन बाध्य पारेको छ ।