खुल्यो सुपथ मूल्य पसल : ७ रूपैयादेखि ६० रूपैयासम्म छुट

काठमाडौं : नेपालीहरूको महान चाड बडादसैँ, तिहार र छठकाे उपलक्ष्यमा काठमाडौंलगाएत ४१ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । काठमाडौंको थापाथली, रामसाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्यविनायकलगायत ४१ जिल्लाका ४५ स्थानमा सुपथ पसल एकैपटक सञ्चालनमा ल्याइएको हाे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राजधानी काठमाडौं उपत्यकासहित देशभर सुपथ पसल सञ्चालनमा ल्याएको छ।

उक्त सुपथ मूल्य पसलको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चाडपर्वका बेला हुनसक्ने महँगी र कालोबजारी नियन्त्रण गरी केही हदसम्म भए पनि जनतालाई सहुलियत दिने उद्देश्यका साथ सुपथ पसल सञ्चालन गरिएको बताउनुभयो ।

त्यस्तै दुग्ध विकास संस्थानले पनि सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । संस्थानले टाढाका सेवाग्राहीलाई अनलाइन बिक्रीको व्यवस्था मिलाइएको छ ।

उहाँले दुर्गम तथा हिमाली क्षेत्रका खाद्यवस्तुको सङ्कलन र बजारीकरणमा ध्यान दिन पनि आग्रह गर्नुभयो । बजारको प्रभावकारी अनुगमन गरी खाद्यवस्तुको गुणस्तर कायम राख्न मन्त्रालय सचेत रहेको भन्दै उहाँले जनशक्ति बढाएर अनुगमनलाई प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनसँगै बजार अनुगमन प्रणालीलाई प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले उपभोक्ताले सहजरुपमा खाद्य उपभोग्य वस्तु खरिद गर्नसक्ने हेतुले अनलाइन बिक्रीको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले अत्यावश्यक खाद्यवस्तु एकैथलोबाट सहुलियतरुपमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको बताउनुभयो । उहाँले सुपथ पसल आवश्यकताअनुसार विस्तार गर्ने र वस्तुसेवा बिक्रीलाई सहज तुल्याइने बताउनुभयो ।

पसल आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुने सुपथ पसलमा विभिन्न ३० प्रकारका खाद्यवस्तु बिक्रीका लागि राखिएको छ । प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ । खाद्यान्य सामग्री र तेलमा रु सात, कर्णाली सिमी तथा गेडागुडीमा प्रतिकिलो रु १०, जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो रु १० छुट पाइने कम्पनीले जनाएको छ । नुन किलोमा रु दुई, घिउ किलोमा रु ६० र पनिर तथा चिजमा प्रतिकिलो रु २० छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।