‘नेपाली चेलीको अधिकारका बारेमा बोल्नुहोस्, विवाह लगत्तै नागरिकता दिने प्रचलन दक्षिण एशियामा कहाँ छ ?’

काठमाडौं, ६ असोज । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले नागरिकता जस्तो संवेशनशील विषयलाई सबैले मिलेर समग्ररुपमा समाधान गर्नूपर्छ भन्ने राष्ट्रपतिको सन्देशलाई पाँच दलीय गठनबन्धनले उपेक्षा गरेको आरोप लगाउनु भएको छ ।
आज एमाले प्रवेश कार्यक्रमलाई पार्टी मुख्यालय च्यासलमा सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । ‘पाँच दलीय गठबन्धनले संसद बाहिरबाट नागरिकता जस्तो संवेदनशील विषयलाई अघि बढाउने जुन प्रयास गर्र्यो त्यो गणतन्त्रमाथिको प्रहार थियो,’ उहाँले भन्नुभयो, ‘गणतन्त्रको प्रतीक भनेको सम्माननीय राष्ट्रपति हो । राष्ट्रपतिलाई उपेक्षा गरेर अघि बढ्ने कुराले राष्ट्रको हित गर्न सक्दैन ।’
उहाँले सबै भन्दा महत्वपूर्ण कुरा बैबाहिक अंगिकृत नागरिकताको विषय भएको भन्दै त्यसमा एमाले प्रष्ट भनेको बताउनुभयो । ‘हाम्रा नेपाली चेलीले विवाह गरेर बाहिर जाँदा नागरिकता प्राप्त गर्न कति समय पर्खिनुपर्छ ? बहिरबाट आउनेले पनि त्यो प्रतिक्षा गर्नुपर्छ भन्ने हो,’ उहाँले भन्नुभयो, ‘पाँचदलीय गठबन्धनले हाम्रा चेलीको हक–अधिकारका बारेमा बोल्न सक्नुपर्छ । हाम्रा चेलीका बारेमा बोल्न नसक्ने गठबन्धन बाहिरबाट आउने चेलीलाई एक हातमा विवाह अर्को हातमा नगरिकता भनेर बोलिरहेको छ ।’
उहाँले गठबन्धनलाई चुनौति दिदैँ भन्नुभयो । ‘पाँच दलीय गठबन्धनलाई सोध्न चाहन्छु । छिमेकीले गरेका प्रावधानमा बहस गर्न एमाले हरदम तयार छ,’ उहाँले भन्नुभयो, ‘हामीले कसैलाई नागरिकताबाट बञ्चित गर्न खोेजेको होइन समान अधिकारको कुरा गरेको हो । विवाह लगत्तै नागरिकता दिने प्रचलन दक्षिण एशिमा कहाँ छ ?’
उहाँले एकातिर असफल भएका राजनीतिक दलहरु गठबन्धन बनाएर अघि बढिरहेका छन् भने अर्कोतर्फ नेकपा (एमाले) समृद्धिको यात्रा तय गर्दै हरेक राष्ट्र निर्माणका आकांक्षा राख्ने रहेक नागरिकका लागि एउटा आशा र भरोसाको केन्द्र बनिरहेको छ भन्नुभयो । ‘दिनहुँ जसो एमाले प्रवेश गर्नेको लहरले पनि यहि कुराको संकेत गर्छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘एमाले राष्ट्र निर्माणको अभियान अघि बढाउन चाहन्छ । पाँच दलीय गठबन्धन त्यसलाई रोक्न प्रयासरत छ । मंसिर ४ पछि एमालेले त्यो अभियान अघि बढाउछ । अहिले एमालेको विजय अभियानलाई रोक्न विभिन्न खाले षडयन्त्र भैरहेका छन् ।’
उहाँले नागरिकता विधेयको विषयलाई लिएर अहिले एमाले पार्टीलाई हतियार बनाएर बदनाम गर्ने प्रयास भैरहेको अरोप पनि लागाउनुभयो । ‘नागरिकताका सन्दर्भमा हाम्रो पार्टी सधैँभरी स्पष्ट छ । नेपालका नागरिकले नागरिकताको अधिकार प्राप्त गर्नुपर्छ । यो एमालेको मान्यता हो भन्ने सबैले बुझ्न जरुरी छ ,’ उहाँले भन्नुभयो, ‘वंशजको आधारमा नागरिकता प्राप्त गर्ने अधिकार सुनिश्चित गर्ने प्रयास केपी ओली प्रधानमन्त्री भएका बखत भएको थियो । नागरिकताबाट बञ्चित भएकालाई अध्यादेशमार्फत नागरिकता प्रदान गर्ने प्रयास गर्दा त्यो अध्यादेश रोक्ने काम भएको थियो । अहिले उनीहरु नै नागरिकताबाट बञ्चित गराउने प्रयास एमालेले गरिरहेको छ भनेर गलत प्रचार गरिहरेका छन् ।’