१० औँ युरोपेली संसदका सांसदहरुको टोली नेपाल भ्रमणमा, एमाले उपमहासचिवसँग भेट

काठमाडौं, ६ असोज । दुई दिने नेपाल भ्रमणमा आएको १० औँ युरोपेली संसदका सांसदहरुको टोलीले नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरेको छ । आज संसद भवन नयाँ बानेश्वरमा भ्रमण टोलीका प्रमुख रिजनर एव्लीनसहितको ६ जना सांसदहरुको टोलीले उपमहासचिव ज्ञवालीसँग अन्तर संसदीय छलफल गरेको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव एवं पूर्वराजदूत डाक्टर अञ्जान शाक्यले जानकारी दिनुभयो । नेपाल भ्रमणमा रहेको एव्लीनका टोलीले एमालेका प्रतिनिधिसँग पहिलो भेट गरेको हो । संसद भवनमा भएको भेटमा युरोपेली संघले नेपाललाई गर्दै आएको विकास साझेदारी, नेपालको वर्तमान अवस्था, आगामी मंसिर ४ मा हुने निर्वाचन, भर्खरै सम्पन्न संविधान दिवस, स्थानीय तहको निर्वाचन लगाएतको विषयमा छलफल केन्द्रित भएको थियो ।

छलफलका क्रममा उपमहासचिव ज्ञवालीले एमाले समाजवादको यात्रामा अघि बढिरहेको भन्दै हुनेखाने र हुँदा खानेबिचको खाडललाई नमेटाउन्जेलसम्म स्थायीत्व नहुनेमा जोडदिनुभयो । ‘एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन,’ उहाँले छलफलका क्रममा भन्नुभयो, ‘जनताको बहुदलीय जनवादमा विश्वास गर्ने भएकाले हाम्रो नीति प्रगातिशील छ ।’

उहाँले पिछडिएको वर्ग, सीमान्तकृत समूदाय प्राथमिकतामा राखेर एमाले अघि बढिरहेको पनि जानकारी गराउनुभयो । ‘निजी क्षेत्र र सहकारीलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो नीति छ,’ उहाँले भन्नुभयो, ‘मुलुकलाई स्थायीत्व दिने हो भने सबै भन्दा पहिला अर्थतन्त्र बलियो बनाउन जरुरी छ । हामी त्यो कुरालाई ध्यानमा राखेर अघि बढेका छौँ । अर्थतन्त्र उक्सियो भने मात्रै पत्रजातन्त्र बलियो हुन्छ ।’

छलफलमा सहभागी हुँदै एव्लीनले पनि नेपालसँगको सहयोग साझेदारीलाई अझ विस्तार गर्दै लैजाने कुरामा सकारात्मक रहेको बताउनुभयो । ‘नेपालको विकास र समृद्धिका लागि हामी निरन्तर सहयोग गर्न तयार छौँ,’ उहाँले भन्नुभयो, ‘प्रजातन्त्रको स्थायीत्वका लागि पनि प्रभावकारी सहयोग गर्न तयार छौँ । हामी नेपाल दिगो विकासको लक्ष्यमा पुगेको देख्न चाहन्छौँ ।’

शसस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर शान्ति स्थापना गर्ने काम सहज नभएको भन्दै ज्ञवालीले यसकारण पनि नेपालको प्रजातन्त्र अरु मुलुक भन्दा पृथक रहेको बताउनुभयो । उहाँले एमाले सन्तुलित विदेश नीतिको पक्षमा रहेको भन्दै एमाले नेतृत्वको सरकार आफू परराष्ट्रमन्त्री रहँदा सन्तुलित विदेश नीतिमा सचते रहेको स्मरण गराउनुभयो । करीब २ घण्टा लामो छलफलमा ज्ञवालीले नेपालले ३३ प्रतिशत महिला सहभागिताको विषयलाई विश्वका अरु देशले पनि अनुसरण गर्नुपर्ने बताउनुभयो । ‘भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा हामीले महिला र युवा सहभागितालाई प्राथमिकतामा राखेका छौँ,’ उहाँले भन्नुभयो ।

एव्लीनसहितको टोलीले नेपालले नीति–निर्माण तहमा गरेको महिला र युवासहभागिताको प्रशंसा गर्दै शिक्षा र प्रविधिमा युवा सहजै घुलमिल हुन सक्ने भएकाले ती क्षेत्रमा पनि युवाको सहभागिता होस् भन्ने चाहेको बतायो । ‘युवा सहभागितामा कृषि, स्वास्थ्य, ग्रामिण विकासलाई अघि बढाउन सकिन्छ,’ छलफलमा सहभागी एक सांसदले भन्नुभयो, ‘शिक्षा र प्रविधिमा युवा सहजै घुलमिल हुन सक्छन् । त्यसैले उनीहरुलाई समावेश गर्नुपर्छ ।

ज्ञवालीले पनि स्थानीय तहमा महिला र युवाको सहभागि राम्रो भएको जानकारी गराउनुभयो । ‘एमालेले विस्तारै युवालाई नीतिनिर्माणमा पनि समेटेको छ । संघीयतामा गएपछि युवा र महिलालाई समावेश गर्न थप सहज भएको छ,’ उहाँले भन्नुभयो, ‘विभिन्न चुनौतिलाई पार गर्दै नेपालमा प्रजातन्त्रको स्थापना भएको छ । त्यसैले यसलाई जोगाइराख्नु हाम्रो दायित्व पनि हो ।’

नेपालको अर्थतन्त्र, उर्जा, लैङ्गिक सहभागीत लगायतबारेमा थप जान्ने इच्छा रहेको भन्दै एव्लीनले नेपालको विकासमा सहयोग गर्न सकारात्मक रहको दोहोर्याउनुभयो । कोभिडलगायतका कारण नेपालले थप जटिलताको सामना गर्नुपरेको भन्दै ज्ञवालीले विकासशील राष्ट्रमा उक्लिनका लागि कृषि, पर्यटन, उर्जा विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले एमाले एक राष्ट्रसँग नजिक र अर्को राष्ट्रसँग टाढा रहने नीतिको विपक्षमा रहको भन्दै सन्तुलित विदेश नीतिका पक्षमा रहेको बताउनुभयो । भेटमा नेपालका तर्फबाट पूर्वराजदूत शाक्यसँगै नेपालका लागि युरोपेली युनियन संघका राजदुत नोना डेप्रिजलगायतको पनि सहभागिता थियो ।