गठबन्धनलाई ओलीको चेतावनी

‘थितिमा बस्नु, लोकतन्त्रमा मसलको होइन संविधानको भाषा बोलिन्छ’

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देश, जनता र लोकतन्त्रलाई विजयी बनाउने महान उद्देश्यमा समाहित भएको भन्दै एमाले प्रवेश गर्नेहरुलाई बधाई दिनुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले बधाई दिनुभएको हो ।

उहाँले अहंकारी गठबन्धनले संविधानको पटकपटक उल्लङ्घन गरेको र राष्ट्रपतिलाई उपेक्षा गरेको आरोप पनि लगाउनुभयो । ‘सरकारले यस्तो भन्नु नपरोस भन्ने चाहन्छु,’ उहाँले चेतावनीको शैलीमा भन्नुभयो, ‘मसलको भाषा बोल्दाबोल्दै एमालेसँग आइपुग्यो भने मसलको भाषा ठिक पारिन्छ । लोकतन्त्रमा मसलको भाषा बोलिन्न, संविधानको भाषा, कानुनको भाषा बोलिन्छ । कानुनीराजको अवलम्बन गरिन्छ ।’

उहाँले गठबन्धन सरकारलाई लोकतन्त्रमा अहंकार होइन थिति र विधि अनुसार चल्नुपर्छ भन्दै त्यसै अनुसार चल्न पनि सुझाव दिनुभयो । ‘त्यो हो लोकतन्त्र सरकारलाई चेतावनी पनि दिन चाहन्छु । ‘सरकार थितिमा रहनुपर्छ,’ उहाँले भन्नुभयो, ‘कम्फरटेबल मिडिया र कथित नागरिक आन्दोलनको समेत समर्थनमा देशमा स्वेच्छाचारी शासन चलाउन थालिएको छ । अकुपाइ बालुवाटार भनेर एमालेको पालामा कराउनेहरु प्रायोजित थिए भन्ने अहिले प्रस्ट भएको छ ।’

ओलीले स्वतन्त्र न्यायपालिका आज गठबन्धनको आज्ञापालक बनाइएको पनि आरोप लगाउनुभयो । ‘प्रधानन्यायाधीशलाई गैरकानूनी थुनामा राख्ने, हाउस एरेस्टमा राख्ने सोच्न सकिन्छ ?’ उहाँले प्रश्न गर्नुभयो । नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै महासचिव पोखरेलले गठबन्धन सरकार सम्पूर्ण रुपमा असफल भएकाले देशको समृद्धि र विकास चाहने सबै देशभक्तहरूलाई एमालेमा आउन आह्वान गर्नुभयो ।

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक खनालले समृद्ध नेपाल सुखी नेपालीका प्रणेताको हातबाट खादा लगाई उहाँको अभियानलाई सहयोग पुर्याउने अवसर प्राप्त भएकोमा आफू हर्षविभोर भएको बताउनुभयो ।

उहाँले प्रहरी सेवामा रहँदा तत्कालीन प्रधानमन्त्री ओलीको विधि र प्रक्रिया बमोजिम काम गर्नुपर्छ भन्ने मान्यताबाट आफू प्रभावित भएको वताउँदै देशमा आपराधिक क्रियाकलापमा रहेका समूहहरूलाई निस्तेज गर्ने, सीके राउत समूह र नेकपा विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउने लगायतका तत्कालीन प्रधानमन्त्री ओलीका शान्ति सुव्यवस्थाका दृष्टिले महत्वपूर्ण काम नेपालको इतिहासमा सधै सम्झनामा रहने उहाँको भनाई थियो ।

पूर्व महानिरीक्षक खनालले प्रहरी, सेना, राष्ट्रिय अनुसन्धान विभागमा काम गर्नुभएका सबै पूर्व सुरक्षाकर्मी साथीहरू र नेपाली जनतालाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा देश बनाउने गन्तव्य निर्धारण गरी अगाडि बढिरहेको एमालेलाई विजयी बनाई हामीले चाहेको विकास र समृद्धि प्राप्त गर्ने अवसर दिन आह्वान गर्नुभयो ।
कार्यक्रममा उपमहासचिव विष्णु रिमाल, सचिव लेखराज भट्ट लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।