ऐतिहासिक असन डबलीको पसल हट्यो, हट्ने बित्तिकै पार्किङमा परिणत

काठमाडौं, ६ असोज । काठमाडौंको मुटु मानिने असनको ऐतिहासिक डबलीको पुरानो पसल काठमाडौं महानगरपालिकाले हटाए लगत्तै डबली रहेको ठाउँ पार्किङमा परिणत भएको छ ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बुधवार असन डबलीको पुरानो पसल हटाएर डबली खाली गरेको थियो । उक्त डबलीमा स्थानीयवासीको सात वटा पूजा सामग्रीको पसल रहेको थियो ।

डबलीमा पसल रहेका स्थानीय पसलेहरुले हरेक वर्ष गुठी संस्थानलाई त्यसको भाडा तिर्दै आइरहेको छ । उनीहरूले गुठीलाई भाडा तिरेको कागजातहरु देखाउँदा पनि नगर प्रहरीले भने त्यो हेर्न मानेन ।

डबलीमा पसल रहेका स्थानीय पसलेहरुले हरेक वर्ष गुठी संस्थानलाई त्यसको भाडा तिर्दै आइरहेको छ । उनीहरूले गुठीलाई भाडा तिरेको कागजातहरु देखाउँदा पनि नगर प्रहरीले भने त्यो हेर्न मानेन

उक्त डबलीमा आजभन्दा करिब २०० वर्ष अघिदेखि स्थानीयवासीको पसल रहँदै आएको बताइन्छ । त्यहाँ सुरुमा पैसाको कारोवार गर्ने शर्राफी पसल थियो । पछि ब्याट्री, टर्चलाइट, लाइटर आदिको पसल राखियो । पछि त्यो पसललाई पनि बदलेर पूजा सामग्रीको पसल राखियो । महानगरपालिकाले सुरुमा डबलीमाथि राखिएको छत मात्रै हटाउन निर्देशन दिएको थियो तर नगर प्रहरीले पसलसमेत हटाइदिएको छ ।

बुधवार दिउँसो डबलीमा राखिएको पसल हटाइए पनि त्यसको २४ घन्टा नबित्दै डबली घेरिने गरी मोटरसाइकल पार्किङ गर्न थालिएको थियो । डबली वरिपरि मोटरसाइकल पार्किङ गरिएकोले पूरा असन नै अस्तव्यस्त हुन पुगेको थियो ।

स्थानीय व्यवसायी यज्ञरत्न तुलाधरका अनुसार बुधवार डबलीको पसल हटाउँदै गर्दा सँगैको पार्किङस्थलमा पार्किङ गरिएका मोटरसाइकलहरु पनि एक ट्रक जति उठाएर लगेको थियो । सो ठाउँमा स्थानीयहरुकै पहलमा व्यवस्थित पार्किङको व्यवस्था गरिएको थियो ।

असन बजारमा पार्किङको व्यवस्था समेत भएन भने उपभोक्ताहरू असनमा आउनै कम हुन सक्ने चिन्ता स्थानीय व्यवसायीहरूले व्यक्त गर्न थालेको पनि तुलाधरले बताउनुभयो ।

उहाँका अनुसार अहिले यही विषयमा स्थानीय व्यवसायीहरुले वडा कार्यालयसँग पनि छलफल चलाइरहेको छ । अहिले पसल हटाइएको असनको डबलीमा हरेक वर्ष दशैं ताका स्थानीय तुलाधर समुदायको परम्परागत ‘कुम्वः प्याखं’ देखाउने गरिन्छ ।