झुटा र भ्रमपूर्ण सूचनाको प्रसार चुनौतीपूर्णः राष्ट्रपति

काठमाडौं, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चुनौतीका रूपमा रहेको सञ्चारका अनलाइन माध्यमलाई बढी मर्यादित र प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ । उहाँले सूचना र सञ्चारका क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखापरेको सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीको विषय भएको पनि बताउनुभयो ।

उहाँले पत्रकारिताको पेशागत आचरण कायम राखी स्वच्छ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल स्थापना गरिएको स्मरण गर्दै त्यसका लागि उक्त संस्थाले निरन्तर भूमिका खेलिरहनुपर्ने पनि बताउनुभयो ।

प्रेस काउन्सिल नेपालको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ तुल्याउन संवैधानिक प्रावधानलाई राज्यका सबै अङ्गले गम्भीरतापूर्वक पालना गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र आगामी मङ्सिर ४ गते हुन लागेको सङ्घ तथा प्रदेशसभाको आवधिक निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न नागरिक समुदायका रूपमा रहेको पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै सञ्चार तथा सूचना प्रविधमिन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोकतन्त्रको जगका रूपमा रहेको स्थानीय सरकार निर्माण भइसकेको स्मरण गर्दै आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा पत्रकारको अझै ठूलो योगदानको अपेक्षा रहेको बताउनुभयो ।

‘अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सङ्घारमा छौँ, तपाईं पत्रकार र प्रेस काउन्सिलको अझै बढी योगदान समाजले चाहेको छ, सरकार स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीयरूपमा निर्वाचन सम्पन्न गराई जनमतमार्फत मुलुकलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउने आकाङ्क्षालाई सफल बनाउन प्रतिबद्ध छ,’ उहाँले भन्नुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले पनि बोल्नु भएको थियो ।