गोधूलिमा प्रज्ञाभवनबाट ओलीको चेतावनी– ‘पचास वर्ष अघिको बैँस निकालेर अधिनायकवादविरुद्ध लड्न तयार छु’

काठमाडौं, ७ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका हरेक भाषण जोसिला हुन्छन् । उहाँ जुन कार्यक्रममा पुग्नुहुन्छ, त्यहि विषयमा केन्द्रित भएर माहोल तताउनु हुन्छ । लाग्छ उहाँले नजानेको विषय नै छैन । युवा संघ नेपालले आयोजना गरेको प्रचार भेलामा आज ओली प्रज्ञाभवन साँझतिर पुग्नुभयो । गोधूलिमा प्रज्ञाभवन पुग्नुभएका ओलीले युवाहरुमा जोस भरिदिने भाषण गरेर निरन्तर युवाहरुको ताली पाइरहनुभयो ।

उहाँको हाउभाउ र शैली देख्दा लाग्थ्यो ओली अहिले ७० को नेटो काटेको अवस्था होइन २०–२२ वर्षको युवाको जोसमा हुनुहुन्छ । उहाँको भाषण कला पनि त्यस्तै थियो । प्राय विरोधीलाई र्ममभेदी भाषण गरेर हायलकायल बनाउने ओलीले आज पनि त्यस्तै शैलीको लय समात्नुभयो ।

उहाँले युवालाई विरोधीसँग झुसे बारुलो होइन अरिङाल बनेर जाइलाग्न उत्प्रेरणा दिनुभयो । आफूले अरिङाल जस्तो प्रचारयुद्धमा लाग्नु भन्दा त्यसलाई गलत व्याख्या गरी अरिङाल लगाउने कुरा गर्यो भनी आरोप लगाएको दृष्टान्त बताउँदै उहाँले भन्नुभयो– ‘मैले अरिङाल जसरी प्रचारयुद्धमा लाग्नुपर्छ भन्दा अरिङाल लगाउने कुरा गर्र्यो भन्छन्अरिङाल लगाउने नै हो । सारासंसार अरिङाल होइन बारुलाको गोलो अझ झुसे बारुलो भएर खनिनु हुन्छ । अनि हामीले अरिङाल हुनुनहुने ?’

उहाँले युवाहरुलाई एमाले विरुद्ध झुट फैलाउने प्रचार गर्नेका विरुद्ध अरिङाल जसरी लाग्न निर्देशन दिनुभयो । ‘हाम्रा साथीहरुलाई म आग्रह गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘हाम्रा विरुद्ध झुट फैलाउने, जनतालाई अलमल्याउने, धोका दिने खालका प्रचारलाई अरिङाल भएर हामीले ध्वस्त पार्नुपर्छ ।’

अरिङाल भेटे भनेर के–के न भेटियो भनेर ३ महिना ६ महिनासम्म विरोधीहरु गराउने गरेको भन्दै अझै उनीहरु केही महिना एमालेको युवा पङ्क्ति अरिङाल भनेर कराउने दाबी गर्नुभयो । ‘लोकतन्त्रका लागि लोकतन्त्रको रक्षाका लागि लड्नु पर्यो भने अधिनायकका विरुद्ध लड्नु पर्र्यो भने मेरो उमेर ५० वर्ष अघि जे थियो अहिले पनि त्यहि छ,’ उहाँले चेतावनीका साथ भन्नुभयो, ‘प्रजातन्त्रका लागि आवश्यक पर्यो भने पचास वर्ष अघिको बैँस (जवानी) निकालेर अधिनायकवादका विरुद्ध लड्न म अहिले पनि तयार छु । हीन भावनाबाट ग्रस्त भएर होइन जस्तोसुकै अवस्थाको पनि सामना गर्न तयार छु । देशका लागि अहिले पनि बलिदान दिन तयार छु । जोस–जाँगर अहिले पनि पचास वर्ष अघि कै छ ।’

ओलीले ४६ सालयता २१ वर्ष सरकार चलाएको कांग्रेसले देशका उद्योगधन्दा बेचेर खाएको आरोप पनि लगाउनुभयो । एमाले सरकारमा पुग्नासाथ विकासका काम गरिहाल्छ भनेर कांग्रेस अहिले आत्तिएको उहाँको दाबी थियो ।

उहाँले गठबन्धनबाट देशको रथ नतानिने दाबी पनि गर्नुभयो । ‘यिनीहरूले १४ महिनामा अर्थतन्त्रको पाङ्ग्रा फुस्काए र समाजलाई कलहतिर लगे,’ उहाँले भन्नुभयो, ‘सत्तामा पुग्ने, मिलिजुली खाने र आ–आफ्ना परिवार सपार्ने, यिनीहरूको उद्देश्य त्यत्ति हो । यस अवस्थाबाट देशलाई एमालेले जोगाउनेछ ।’