ढल बगिरहेको इक्षुमतीमा सम्भव छ, कलकल पानी बग्न ?

एस आर छिपा

काठमाडौँ, १२ असोज । काठमाडौं महानगरपालिकाले नारायणहितिदेखि कमलादीसम्म हराएको टुकुचा खोज्न डोजर चलायो । सुरुमै हात्तीसारस्थित जय नेपाल हल परिसरमा उत्खनन् सुरु भयो । उत्खनन्मा भेटियो श्री ३ वीर लेखिएको इट्टा र माअप्पाले तयार गरिएको सुरुङमार्ग, जहाँ अबिरल रुपमा बगिरहेको थियो टुकुचा ।
टुकुचा बगिरहेको सबैलाई थाहा थियो, तर कहाँबाट बगिरहेको थियो भन्ने थाहा थिएन । उत्खननले दिएको एउटा उपहार भनेकै सुरुङमार्गको स्वरुप पत्ता लाग्नु हो । अन्यथा हामीलाई त्यो बेला बनेको इन्जिनियरिङको मास्टसपिस सुरुङमार्गबारे थाहै हुन्थेन । अहिले यही टुकुचा र सुरुङमार्ग केन्द्रित थुप्रै बहस भइरहेका छन् ।

काठमाडौं महानगरपालिका टुकुचालाई पहिलाकै स्वरुपमा फर्काउनुपर्ने अडानमा छ । अर्को समूह भने टुकुचा बगिरहेको सुरुङमार्ग १३० वर्ष पुरानो भएकोले त्यो बिगार्न नहुने पक्षमा छ । खासमा टुकुचा खोज्ने अभियान अघि पनि भएका छन् । तर तिनले पनि सार्थकता पाउन सकेका थिएनन् ।

काठमाडौं महानगरपालिका टुकुचालाई पहिलाकै स्वरुपमा फर्काउनुपर्ने अडानमा छ । अर्को समूह भने टुकुचा बगिरहेको सुरुङमार्ग १३० वर्ष पुरानो भएकोले त्यो बिगार्न नहुने पक्षमा छ । खासमा टुकुचा खोज्ने अभियान अघि पनि भएका छन् । तर तिनले पनि सार्थकता पाउन सकेका थिएनन् 

सुरुमा यो टुकुचा के–हो रु भनेर बुझौं । अहिले बोलीचालीमा चल्दै आएको टुकुचा शब्दको कुनै अर्थ छैन यो कालान्तरमा अपभ्रंश भएको शब्द हो । संस्कृतमा यो खोल्सोको नाम इक्षुमति हो नेपाल भाषामा यो खोल्सोलाई तुखुचा भनिन्छ । संस्कृतमा इक्षु भनेको उखु हो भने नेपाल भाषामा तु भनेको उखु हो । त्यसैले यो खोल्सोको सम्बन्धन उखुसँग रहेको देखिन्छ ।

पहिला काठमाडौंमा उखुको पनि खेती हुने गर्थ्यो । धेरै जसो उखु खेती टोखामा हुन्थ्यो । उखुको खेतै खेत भएकोले सो ठाउँलाई तुख्यस् भनियो । पछि तुख्यस् अपभ्रंश हुँदै टोखा बन्यो । यसरी नै उखु टोखा क्षेत्रकै भेगमा रहेको बुढानीलकण्ठ क्षेत्रमा पनि पाइने गरेको अनुमान गर्न सकिन्छ । तुखुचाको मूल स्रोत शंखपार्क हुँदै आएको देखिन्छ । जसको माथि बुढानीलकण्ठ क्षेत्र पर्छ । पहिला यो ठाउँमा उखुको बारीहरु भएको र त्यसैको पानी बग्ने भएकोले यो खोल्सालाई इक्षुमती वा तुखुचा भन्ने गरिएको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

अहिले भने मानिसहरु यो ढल हो कि खोला हो भन्ने बहसमा पनि छन् । टुकुचा कहिलै ढल थिएन । यो मूलत खेतमा बढी भएको पानी बागमती पठाउने सहायक खोल्सा हो । समयक्रमसँगै यो खोल्सोको आसपास बस्ती विकास भए । स्थानीय नेवार समुदायको अजिमाको मन्दिर पनि खोल्सो किनारमा भएकोले पनि यो कुरा प्रमाणित गर्छ । सहरीकरण बढेसँगै भने यो खोल्सोको स्रोत क्षेत्रबाट नै बस्ती निर्माण गति ह्वात्तै बढ्यो । अव्यवस्थित शहरीकरणको चपेटामा परेपछि टुकुचामाथि सडक बने । टुकुचासँगै जोडेर घर बने । पछि यहीँ ढल मिसियो । ढल बगिरहेको टुखुचालाई स्वच्छ पार्न धेरै अध्ययन भए । तर, बागमती र टुकुचाको हविगत उस्तै ।

 टुकुचा बगिरहेको सुरुङमार्गको कुरा गरौं 

वीर शमशेर जबरा प्रधानमन्त्री हुँदा उनले सुरुङमार्ग हुँदै टुकुचा बगाएका थिए । उनैले सहीछाप गरेको एउटा दस्तावेजमा वि सं १९४९ वैशाखमा टुकुचामाथि पटाङ्गिनी बनाउन जग्गा अधिग्रहण गरिएको उल्लेख छ । उनले सो समय किसानसँग १ रोपनी १ को २०० मोरु दरले जग्गा खरिद गरेर पटाङ्गिनी बनाउन लगाएका थिए ।
टुकुचा त्यसबेला वीर शमशेरले आफ्नी कान्छी बडामहारानी तोपकुमारी देवीका लागि बनाउन लगाएको लाल दरबार हुँदै बग्ने गर्थ्यो। हाल भेटिएको सुरुङमार्ग पनि लाल दरबार अन्तर्गतकै भूमि थियो लादरबार अहिले ‘याक एन्ड यती होटल’ बन्यो । तर, त्यो दरबारका अन्य हिस्साहरु भने कालान्तरमा सबै बिक्री भए । र, टुकुचालाई सुरुङमा पठाएर बनाइएको पटाङ्गिनी पनि बिक्री भयो । र, जग्गा कित्ताकातसँगै जनताले यो क्षेत्र किने, लालपूर्जा पाए र घर बनाए ।

महानगर अहिले खोलामाथि घर बन्नै नसक्ने तर्क गरिरहेको छ । हात्तीसारका स्थानीय भने टुकुचा आफ्नो घरमुनीबाट बगिरहेको थाहै नभएको दाबी गरिरहेका छन् । यसो हेर्दा यहाँ महानगरले हतार गरेको जस्तो देखिन्छ । महानगरले कुनै पनि योजना बिना ‘पपुलिजम’को आडमा जनताको नाममा रहेको जग्गामा डोजर चलाएको देखिएको छ

टुकुचा उत्खननसँगै पासिको अजिमासँग टुकुचाको सम्बन्धबारे थप अध्ययन आवश्यक रहेको देखिन्छ । नेपाल भाषामा पासिको अर्थ नासपाति हुन्छ । त्यसैले हाल कमलादी क्षेत्रमा नासपाति फल्ने गरेको अनुमान पनि एकथरीको छ । यस्तै, पासिको अजिमा हुँदै टुकुचा बग्ने भन्ने कुराको पनि अध्ययन आवश्यक देखिन्छ । महानगर अहिले खोलामाथि घर बन्नै नसक्ने तर्क गरिरहेको छ । हात्तीसारका स्थानीय भने टुकुचा आफ्नो घरमुनीबाट बगिरहेको थाहै नभएको दाबी गरिरहेका छन् । यसो हेर्दा यहाँ महानगरले हतार गरेको जस्तो देखिन्छ । महानगरले कुनै पनि योजना बिना ‘पपुलिजम’को आडमा जनताको नाममा रहेको जग्गामा डोजर चलाएको देखिएको छ । जमिनमुनी सुरुङमार्ग वा खोला बग्नेबारे डोजर नै चलाइहाल्नुपर्ने थिएन । त्यसको उत्खननका लागि प्रविधिहरु नेपाल नै उपलब्ध थिए ।

यता, महानगरले यसरी घर नै भत्काउने चेतावनी दिनुपूर्व त्यहाँको ऐतिहासिक र पुरातात्विक अध्ययन गरेको देखिएन । जसकारण अहिले टुकुचा खुलाउने महानगरको अभियानमा नै ‘ब्रेक’ लागेको छ । हात्तीसारका स्थानीयले आफ्नो घर भत्काउन रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन्, जसमा अदालतले अन्तरिम आदेश दिइसकेको छ । सिधै डोजर नचलाइ विज्ञसँग सल्लाह र स्थानीयसँग वार्तालापबाट यो मुद्दा हल हुन सक्थ्यो । तर, महानगर अहिले पनि त्यसो गर्ने छाँटकाँट देखिन्न । स्थानीयले पनि आफूहरु टुकुचा खुलाउने अभियानमा सकारात्मक रहेको तर महानगरले कुनै छलफल नगरेको बताइरहँदा महानगर प्रमुख बालेन्द्र साहबाट पनि कुनै छलफल प्रक्रिया अघि बढेको देखिन्न ।

घरसँगै महानगर सुरुङमार्ग पनि भत्काउनुपर्ने बताइरहेको छ । तर, इतिहासविद्, संस्कृतिकर्मी र अभियन्ता भने त्यसको विरुद्धमा छन् । सुरुङमार्ग सम्पदा भएको भन्दै पुरातत्व विभागले समेत विज्ञ टोली खटाएर अनुसन्धान गरिसकेको छ । सो टोलीले सुरुङमार्ग राणाकालीन नै भएको प्रमाण फेला पारिसकेको छ । जसकारण पनि यदि महानगरले अब सुरुङमार्ग भत्काउन सक्ने आधार कम हुँदै गएको छ । एकातिर घरधनीहरुको अर्को तिर सम्पदा बनेको सुरुगमार्ग । यी दुवैलाई तत्कालै व्यवस्थापन गरेर अघि बढ्न महानगरलाई गाह्रो छ ।

टुकुचा ब्युताउँन कति सम्भव छ ?

मानिसहरुलाई भन्न सजिलो छ, गएर भत्काइदेउ टुकुचा माथि बनेका घर । तर यहाँ हात्तीसारमा मात्रै रहेका केही घरको मात्रै सवाल छैन । यो मानिसले बुझेका छैनन् । शंखपार्कदेखि त्रिपुरेश्वरसम्म बगिरहेको टुकुचाको वरिपरिका सयौं घर यो योजनाले प्रभावित हुने देखिएको छ । हाल चण्डोल क्षेत्रदेखि नै टुकुचामाथि सडक बनेका छन् । ढल बगिरहेको टुकुचा माथि कंक्रिटको ढलान गरेर व्यक्तिको घर छिर्न सडक बनाइएका छन् बालुवाटारसम्मै ।

मापदण्डको कुरा गर्ने हो भने टुकुचाको वरिपरि ४–४ मिटर सेटब्याक छाड्नुपर्ने हुन्छ । तर, अहिले शंखपार्कदेखि नै यो मापदण्ड लागू छैन । टुकुचासँगै जोडिएर व्यक्तिगत घरदेखि ठूलो कम्प्लेक्स बनेका छन् । बालुवाटारबाट नील सरस्वती मन्दिर जाने बाटोमा टुकुचामाथि एक घर एक पुल बनेको छ । यस्तो अवस्थामा मापदण्ड लागू भए टुकुचा वरिपरि रहेका प्रायस् घरले सडक बाटो हुनेछन् । यस्तै, मापदण्ड लागू गराउन घरजग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । यसको लागि ठूलो धनराशी खर्च हुनेछ ।
अर्को गाह्रो भने निषेधित क्षेत्रमा टुकुचा खुल्ला गर्नु हो । नारायणहिति हुँदै बग्ने र जंगी अड्डा हुँदै बग्ने टुकुचा पैदलमैत्री बनाउन सक्ने सुझाव सन् २०२० मा बोनाफाइड इन्जिनियरिङ कन्सलटेन्सी प्राइभेट लिमिटेडले गरेको अध्ययनमा दिइएको छ । जंगी अड्डा हुँदै बग्ने टुकुचाको किनारमा अर्को अजिमाको मन्दिर छ । फिब्वख्यस् अजिमाको मन्दिर अझै टुकचा किनारमै छ जसमा सर्वसाधारणको पहुँच छैन ।

अर्बौं खर्च गरेको बागमतीको दुर्दशाले के प्रमाणित हुन्छ भने भौतिक निर्माणले मात्रै सफा पानी बग्न सक्दैन । त्यसका लागि मूल स्रोतदेखि नै संरक्षण गर्नुपर्ने हुन्छ । जुन टुकुचाको सवालमा महानगरले गरेको देखिँदैन । शंखपार्कभन्दा माथिल्लो भेग अर्को नगरपालिका अन्तर्गत पर्छ । त्यसैले महानगरले अन्तर नगर संवाद बिनै टुकुचा ब्युताउँन पनि सम्भव देखिँदैन

सो कम्पनीले शहरी विकास मन्त्रालयमा बुझाएको प्रतिवेदनमा टुकुचा ब्युताउँन र वरिपरिका संरचना बनाउन ५ अर्ब १६ करोड ५१ लाख भन्दा बढी खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो। जसमा पैदलमार्ग बनाउने देखि शौचालय निर्माण, पार्किङ, पार्क, ढल निर्माण लगायत समावेश छन् । यस्तै, टुकुचा निर्माणका लागि जग्गा अधिग्रहणमा मात्रै १ अर्ब ३५ करोड ९२ लाख भन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको थियो । सो रिपोर्ट बनेकै दुई वर्ष बितिसक्यो। दुई वर्षमा लागत अनुमान रकम पनि स्वत बढ्ने नै भयो । जसकारण योजना अन्तर्गत टुकुचा निर्माण गर्ने हो भने सरकारले करिब १० अर्बभन्दा बढी खर्च गर्नुपर्ने देखिन्छ ।

अब महत्वपूर्ण प्रश्न, यति धेरै खर्च गरेर टुकुचा खोल्सालाई ब्युताइयो, वरिपरि पैदलमार्ग सहितको सुविधान पनि निर्माण भयो। तर के टुकचामा पहिला झै पानी बग्छ त ?
यो प्रश्न अनुत्तरित झै छ । अर्बौं खर्च गरेको बागमतीको दुर्दशाले के प्रमाणित हुन्छ भने भौतिक निर्माणले मात्रै सफा पानी बग्न सक्दैन । त्यसका लागि मूल स्रोतदेखि नै संरक्षण गर्नुपर्ने हुन्छ । जुन टुकुचाको सवालमा महानगरले गरेको देखिँदैन । शंखपार्कभन्दा माथिल्लो भेग अर्को नगरपालिका अन्तर्गत पर्छ । त्यसैले महानगरले अन्तर नगर संवाद बिनै टुकुचा ब्युताउँन पनि सम्भव देखिँदैन । अन्तिममा, यदी सबै चुनौतीहरु पार गरेर टुकुचा ब्युताउँने योजना सफल बनाउन सके यो विश्वकै लागि एक उदाहरणीय काम हुनेछ । तर, यो असम्भव जस्तै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *