बांगेमुढाको त्वाःछेँ भवन : के महानगरपालिकाले यो भवन भत्काउनै पर्ने थियो ?
काठमाडौं, २४ असोज । काठमाडौं महानगरपालिका वडा नं. २५ (पहिलेको वडा २८) बांगेमुढास्थित स्थानीय समुदायले बनाएको त्वाःछेँ (सामुदायिक भवन) महानगरपालिकाले डोजर लगाएर भत्काएपछि अहिले बिजोग अवस्थामा रहेको छ । क्षतिग्रस्त भवनलाई न महानगरपालिकाले पूरै भत्काए, न पुनर्निर्माण गरे । बाटो हिँड्ने सबैका लागि अहिले यो भवन अनौठो दृश्य बनेर उभिरहेको छ ।
गएको दशैं विदा शुरु हुनु एक दिन अघि मात्रै महानगरपालिकाले आफ्ना नगर प्रहरीको बलमा उक्त सामुदायिक घरमाथि डोजर चलाएको थियो । सामुदायिक घरमाथि डोजर नचलाउन स्थानीय वासिन्दाले गरेको अनुरोधलाई वेवास्ता गर्दै महानगरपालिकाले घरको झ्याल, चौकोस र भुईंतलाको शटरमा क्षति पुर्याएको थियो ।
त्यस लगत्तै स्थानीय वासिन्दा र विभिन्न संघ संस्थाहरूले गरेको विरोध प्रदर्शन र मसाल जुलुसपछि भने महानगरपालिका ‘ब्याक’ भएको छ ।
तर डोजरले क्षतिग्रस्त पारेको उक्त भवनलाई अब के गर्ने भन्ने विषयमा भने महानगरपालिकाले केही बोलेको छैन । क्षतिले भूतबंगला जस्तो बन्न पुगेको उक्त भवन अहिले टोलकै सबैभन्दा कुरुप टुक्रा बन्न पुगेको छ ।
वास्तवमा यो सामुदायिक घरसम्बन्धी मुद्दामा घर भत्काउने कि नभत्काउने भन्ने कुनै विवाद नै थिएन । यो घरको मूल विवाद भनेको यसको स्वामित्व कोसँग रहने भन्ने मात्रै हो । कुनै बेला खुल्ला शौचालयका रूपमा प्रयोग हुने यो ठाउँलाई स्थानीयवासीहरू मिलेर टोलकै स्वामित्व रहने गरी सामुदायिक भवन निर्माण गरिएको थियो ।
पछि सोही भवनमा तत्कालिन कामपा २८ वडा कार्यालय पनि बस्न आए । त्यतिबेला वडा कार्यालयले त्वाःछेँ समितिलाई औपचारिक रूपले चिट्ठी नै लेखी वडाको लागि कोठा उपलब्ध गराउन अनुरोध गरेको थियो । अहिले त्यो चिट्ठी पनि सार्वजनिक भइसकेको छ ।
केही वर्ष उक्त भवनमा वडा कार्यालय बसिसकेपछि वडा कार्यालयले भवन नै आफ्नो हो भनी दावी गर्न थाले । त्यसपछि घरको स्वामित्वसम्बन्धी विवाद शुरु भयो । विवाद टुंगाउन नसकेपछि अदालतमा मुद्दा प¥यो । अहिले यो मुद्दा पुनरावेदन अदालतमा विचाराधीन रहेको छ ।
अदालतको फैसलाले जे भन्छ भवनको स्वामित्व उसैकहाँ जाने हो । स्वामित्व जसको हातमा गए पनि उसलाई पनि भवन त चाहिन्छ नै । त्यसैले यो भत्काइरहनुपर्ने भवन होइन । यस्तो विषयमासमेत महानगरपालिका डोजर लिएर भवन भत्काउनतिर लाग्नु आफैमा बुझ्न नसकिने विषय भएको छ ।
यो भवनको विचाराधीन मुद्दामा एउटा झगडिया पक्ष महानगरपालिका आफै हो । स्थानीय त्वाःछेँ समिति र महानगरपालिकाको वडा कार्यालय यो मुद्दाका पक्ष र विपक्ष हुन् । आफै झगडिया पक्ष रहेको मुद्दामा महानगरपालिकाले डोजर चलाउन जानु कानूनको बर्खिलाफ र अदालतको अपमान पनि हो । अतः यसमा अदालतको मानहानी गरेको भन्ने अर्को मुद्दामा महानगरपालिका तानिन सक्ने दावी कानूनविद्हरुको रहेको छ ।
महानगरपालिकाले त्वाःछेँ भवन भत्काएका कारण गएको दशैंभरि जसो नै काठमाडौंको भित्री क्षेत्र आन्दोलित भए । दशैंपछि यसबारे अझ विस्तृत छलफल गर्ने र कुनै निष्कर्ष निकाल्ने सहमति भएको थियो ।
उक्त आन्दोलनको अग्रपंक्तिमा रहेका स्थानीय निवासी अस्मीत मल्लका अनुसार स्थानीयवासी कुनै पनि प्रकारको मुठभेडमा जाने पक्षमा छैन । त्यसैले सबै विकल्पमा खुल्ला रही सबै पक्षसँग संवाद गर्ने दिशातिर नै स्थानीयवासी गइरहेको उहाँले बताउनुभयो ।