विश्व अण्डा दिवस : जनचेतनाकाे अभावमा अण्डा खपत कम

चितवन, २८ असोज। स्वास्थ्यका दृष्टिले महत्वपूर्ण प्रोटिनको स्रोत मानिने अण्डा जनचेतनाको अभावमा खपत कम भएको छ । अण्डामा गुणस्तरीय प्रोटिन, भिटामिन, खनिज तत्व, ठिक्क मात्रामा चिल्लो पदार्थ पाइने भएर पनि यसको खपत भने कम भएको छ ।

विज्ञका अनुसार मानिसकाे शरीरले सजिलैसँग शोषण हुने एकमात्र खाद्यवस्तु अण्डा हो । यसमा मुख्यरुपमा गुणस्तरीय प्रोटिन, भिटामिन, खनिज तत्वहरु फोस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, आइरनका साथै चिल्लो पदार्थ पनि ठिक्क मात्रामा पाइन्छ ।

वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरी प्रोटिनको सबैभन्दा राम्रो स्रोत अण्डा भएको बताउनुहुन्छ । अण्डामा प्रोटिन, क्यालोरी र मिनिरल्स पाइने उहाँको भनाइ छ । यो अण्डाको सेतो भागमा धेरै पाइन्छ । पहेलो भागमा कोलेस्ट्रोल र मिनिरल्स पाइन्छ ।

उहाँ बच्चालाई कोलेस्ट्रोल पनि चाहिने हुँदा पहेलो भाग खुवाउनुपर्ने बताउनुहुन्छ । कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप भएकालाई पहेँलो भाग नखान उहाँको सुझाव छ ।

मादक पदार्थ धेरै खाएर प्रोटिनको मात्रा घटेका, कलेजोमा समस्या देखिएकाले प्रोटिन बढाउने मुख्य माध्यम अण्डा भएको डा अग्रहरीको भनाइ छ ।

शारीरिक विकास, मानसिक वृद्धि सबैमा अण्डा उपयोगी हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मानिसलाई बुझाउन नसक्दा अण्डाको उपयोग कम छ ।” यसका लागि उपयुक्त माध्यम जनचेतना नै भएको उहाँ बताउनुहुन्छ ।

विश्वको तुलनामा नेपालमा अण्डाको उपभोग निकै कम छ । नेपाल पशु चिकित्सक परिषद्का उपाध्यक्ष, वरिष्ठ पशु चिकित्सक डा सुवीर सिंह एशियाका मानिसले वार्षिक एक सय ८० अण्डा उपभोग गर्नुपर्ने भए पनि नेपालमा यो दर ६१ मात्रै रहेको बताउनुहुन्छ । जापानमा यो दर तीन सय ६२ रहेको उहाँले जानकारी दिनुभयो । मानिसमा आवश्यक जनचेतनाको अभावका कारण खपत बढ्न नसकेको सिंह बताउनुहुन्छ ।

नेपालमा सबैभन्दा धेरै अण्डा उत्पादन गर्दै आएको दाउन्ने कर्पाेरेटका कार्यकारी निर्देशक विनोद पोखरेल सरकारी तवरबाट अण्डाको महत्वका बारेमा आम नागरिकलाई बुझाउन नसक्दा खपत नबढेको बताउनुहुन्छ ।

कोरोनाका बेला अण्डाको उपभोग निकै बढेको भन्दै उहाँले यसको महत्वका बारेमा आम नागरिकलाई बुझाउनुपर्ने बताउनुभयो । नेपालमा ठूला फार्म खुलेका जनाउँदै उहाँले व्यवसाय आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीको भनाइमा अहिले दैनिक ४८ देखि ५० लाख अण्डा उत्पादन हुँदै आएको छ । सङ्घमा आबद्ध फार्म मात्रै एक हजार दुई सय छन् । सङ्घमा दर्ता नभएका साना फर्म तीनगुणा बढी भएको उहाँ बताउनुहुन्छ । दुई लाखभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी यसले दिएको छ । समग्र पोल्ट्री क्षेत्रमा नेपालमा रु एक खर्ब ५० अर्बभन्दा बढी लगानी रहेको तथ्याङ्क छ ।