एमालेका १९ मध्ये १५ पदाधिकारी चुनावी मैदानमा, कस्को कस्तो छ प्रचार अपडेट ? (चुनावी अभियानका तस्बिरसहित)

काठमाडौं, ३० असोज । नेकपा (एमाले) का १९ पदाधिकारीमध्ये आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि १५ जना चुनावी मैदानमा हुनुहुन्छ । १९ पदाधिकारी मध्ये तीन उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापा (बादल) चुनावी मैदानमा हुनुहुन्न । उपमहासचिव विष्णु रिमाल पनि अहिले चुनावी मैदानमा हुनुहुनुन्न । उम्मेदवार बन्नुभएका सबै पदाधिकारी अहिले चुनावी अभियानका सिलसिलामा आ–आफ्नै क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेदवार बन्नुभएको छ । केही दिन अघि मात्रै झापा पुगेर फर्किनु भएका ओली अहिले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालसहित निर्वाचन केन्द्रित घोषणापत्र तयारीका लागि ललितपुरको लाँकुरी भञ्ज्याङमा हुनुहुन्छ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५, बाट उम्मेदवार हुनुहुन्छ । केही दिन अघि मात्रै उहाँकै क्षेत्रको एक चुनावी अभियानको घोषणागरेपछि अहिले उहाँ चुनावी अभियानमा सक्रिय हुनुहुन्छ ।
उपाध्यक्ष सुवास नेम्वाङ इलाम २ बाट उम्मेदवार हुनुहुन्छ । त्यसैगरी अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन १ बाट उम्मेदवार हुनुहुन्छ । सामाजिक सञ्जालमा सक्रिय पाण्डेले चुनावी अभियानका प्रायः गतिविधि अपडेट गराउँदै आउनु भएको छ ।
उहाँले चितवन क्षेत्र नम्बर १ को नेकपा (एमाले) खैरहनी १ ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन गरेको जानकारी सामाजिक सञ्जालबाटै गराउनु भएको छ । त्यस्तै अनेरास्ववियु जिल्ला कमिटी चितवनको निर्वाचन केन्द्रित बिस्तारित बैठक बिरेन्द्रनगर, चितवनको कार्यक्रममा सहभागी भएको रत्ननगर ११ मा चुनाबी प्रचार तथा वडा भेलाका कार्यक्रमहरुलाई पनि उहाँले सार्वजनिक गर्नुभएको छ ।
नेकपा (एमाले) रत्ननगर ३ द्वारा आयोजित अगुवा कार्यकर्ता भेलालगायतका कार्यक्रममा उहाँ सभागी भएको देखिन्छ । त्यसैगरी नेकपा (एमाले) खैरहनी ९ द्वारा आयोजित अगुवा कार्यकर्ता भेला, चितवन क्षेत्र नं.१ प्रदेश (१) निर्वाचन प्रचार प्रसार कार्यालय उद्घघाटन कार्यक्रम भण्डारामा सहभागी हुनुभएको छ । उहाँले दिगंवत भएका परिवारलाई समवेदना प्रकट गर्न गएका तस्बिरहरु पनि सार्वजनिक गर्दै जनताको घरदैलोमा पुगेको र आफ्नो क्षेत्रका जनताको साथमा रहेको उल्लेख गर्नुभएको छ । अर्का उपाध्यक्ष विष्णु पौडेल पूर्वअर्थमन्त्री पनि हुनुहुन्छ । अहिले उहाँ रूपन्देही २ को प्रतिनिधिसभा उम्मेदवार हुनुहुन्छ । उहाँले चुनावी अभियानका सिलसिलामा भौतिकसँगै मानवीय विकासमा आफू केन्द्रित रहेको बताउँदै आउनु भएको छ ।
उहाँ अन्य नेताको तुलनामा अलिक कम सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ । उहाँका स्वविय सविच एवं अनेरास्ववियुका नेता यम पाण्डेले प्राय उहाँको गतिविधि अपडेट गराउने गर्नुभएको छ । पौडेलले एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को वडा भेलालाई शनिवार बिहान सम्बोधन गर्नुभएको छ । उहाँले त्यहाँ सम्वोध गर्दै भौतिक विकासमा रूपन्देही धेरै अगाडि पुगिसकेकोले अब आफूहरू मानवीय विकासमा लागेको बताउनुभयो । चुनावी प्रचार अभियान अन्तर्गत एकैदिन २३ वटै वडा निर्वाचन प्रचार कार्यालय उदघाटनपछि अहिले उहाँ तिव्र चुनावी अभियानमा हुनुहुन्छ ।
महासचिव शंकर पोखरेल दाङ २ बाट उम्मेदवार बन्नुभएको छ । अहिले उहाँ अध्यक्ष ओलीसँगै चुनावी घोषणापत्र लेखनलाई अन्तिमरुप दिने तयारीमा काठमाडौँमै हुनुहुन्छ । उहाँ पनि केही दिन अघिसम्म दाङमै हुनुहुन्थ्यो ।
उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ बाट उम्मेदवार हुनुहुन्छ । उहाँ पनि विभिन्न कार्यक्रम सक्रिय हुनुहुन्छ । अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङ १ बाट उम्मेदवार बन्नुभएको छ । उहाँ लमजुङको वेशीसहर नगरपालिका वडा नं १० का टोलटोलमा चुनावी अभियानमा सक्रिय हुनुहुन्छ । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री गुरुङ यो पटक पनि प्रदेशमा उम्मेदवार बन्ने चाहनामा हुनुहुन्थ्यो । तर, पार्टी नेतृत्वले संघमा उम्मेदवार बन्न भनेपछि अहिले उहाँ संघबाट उम्मेदवार हुनुहुन्छ । उहाँ लम्जुङको चउर टोललगायतका स्थानमा पनि चुनावी अभियानसँगै पुग्नु भएको छ ।
नेतृत्व युवा क्लव दुधपोखरी गाउँपालिका ६ साल्मेको आयोजनामा आयोजित १९ औँ खुल्ला फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रमदेखि अन्य कार्यक्रमसम्ममा उहाँ व्यक्त हुनुहुन्छ । उहाँका प्रायः गतिविधि उहाँका स्वकीय सचिव विक्रम न्यौपानेले अपडेट गराउने गर्नुहुन्छ । सचिव योगेश भट्टराई ताप्लेजुङबाट उम्मेदवार हुनुहुन्छ । उहाँ एमालेका अन्य नेताको तुलनामा सामाजिक सञ्जालमा निकै सक्रिय देखिनुहुन्छ । उहाँका स्वकीय सचिव प्रेम गुरागाईँलगायतले पनि उहाँलाई सहयोग गर्ने गर्नुभएको छ । भट्टराई हरेक गतिविधि सामाजिक सञ्जालमा अपडेट गरेर जानकारी गराउनुहुन्छ ।
दुर्गम मानिने ताप्लेजुङका गाउँवस्तीमा अहिले भट्टराई चुनावी अभियानमा हुनुहुन्छ । उहाँले अपडेट गराएको जानकारी अुनसार ताप्लेजुङ जिल्लाको सिदिङवा गाउपालिका लिम्बुदिन र मेहेलेमा गाउँमा उहाँ जनतासँग राय–सुझाब लिदैँ पुग्नुभएको छ । उहाँ ताप्लेजुङको सादेवा, आँङ्खोप, थुङरुङबा जस्ता ठाउँमा चुनावी अभियानमा सक्रिय हुनुहुन्छ । उहाँ प्राय जनतासँग घुलमिल हुने स्वाभावले पनि होला कतै क्यारेमवोर्ड, खेल्दै गरेका कतै भान्सामा बढीआमासँग गफ गर्दै गरेका तस्बिर उहाँले सार्वजनिक गर्नुभएको छ । अर्का सचिव गोकर्ण विष्ट पनि सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ ।
गोकर्ण विष्ट गुल्मी २ बाट उम्मेदवार हुनुहुन्छ । उहाँले गुल्मीको इस्माको रातामाटा र जैंटिखोलाका दाजुभाई दिदिबहिनीसँग घरदैलोमा भेटघाट भएको तस्बिर सार्वजनिक गर्नुभएको छ । उहाँले तस्बिर सार्वजनिक गर्दै भन्नुभएको छ–‘उहाँहरूको सद्भावले हामीलाई थप हौसला प्रदान गरेको छ ।’
त्यसैगरी होम स्टेको सुबिधा सहितको पर्यटकीय एवं मनोरम ठाउँ कुर्घाको स्वाँरामा त्यहाँका जनतासँग गरेको छलफल एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा आफू मन्त्री भएको बेला गरिएको निर्णय बमोजिम १८ करोड ६० लाख ८२ हजार लागतमा निर्माण भैरहेको १५ शैयाको ‘मुसिकोट आधारभूत अस्पताल भवनको निरीक्षण गरेको तस्बिर पनि उहाँले अपडेट गराउनु भएको छ ।
पद्मा अर्याल स्याङ्जा २ बाट उम्मेदवार हुनुहुन्छ । उहाँ पनि सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ । तर, उहाँले चुनावी अभियानका गतिविधि त्यति धेरै अपडेट गराउनु भएको छैन । छबिलाल विश्वकर्मा रुपन्देही १, लेखराज भट्ट कैलाली ४, टोपबहादुर रायामाझी अर्घाखाँची १ र रघुवीर महासेठ धनुषा ४ बाट उम्मेदवार बन्नुभएको छ ।