युगान्डामा इबोला फैलिन नदिन उच्च सतर्कता

एजेन्सी, १ कार्तिक । युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले यहाँ उच्च सतर्कताका राखिएको छ ।

यहाँका राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको सङ्क्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस सहरमा उच्च सतर्कता अपनाइएको बताउनुभएको हो ।

उहाँले ट्वीट गरेर सो कुराको जानकारी दिनुभएको हो । सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो । त्यसैले सो संक्रमण यहाँ नआओस भनेर सतर्कता अपनाइएको उहाँले बताउनुभएको छ ।

मुबेन्डे यसअघि इबोलाको सङ्क्रमण निकै धेरै भएको नगर हो । युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो ।

यही अक्टोबर १५ सम्मको युगान्डाको तथ्याङ्क अनुसार यहाँ ५८ जनामा इबोलाको सङ्क्रमण देखिएको थियो र तीमध्ये १९ जनाको मृत्यु भएको थियो । त्यस्तै २० जना सङ्क्रमित निको भएर घर फर्किएका थिए ।

इबोला सङ्क्रमणबाट अफ्रिकी देशहरुमा हजारौँ मानिसको ज्यान लिइसकेको छ ।